+
+

सुनबारे प्रहरी अनुसन्धानमा जाँचबुझ आयोगको प्रश्नैप्रश्न

विज्ञ भन्छन् – आयोगले बाटो देखायो, थप अनुसन्धान गर्नुपर्छ

गौरव पोखरेल गौरव पोखरेल
२०८० चैत २ गते २२:५५

२ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ६० किलो सुन र विद्युतीय सिगरेटमार्फत भएको सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटिहरु भएको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले निष्कर्ष निकालेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गम्भीर त्रुटिहरु गरेको निष्कर्षसहित ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्यसहित प्रहरी अधिकृतहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।

कारबाही सिफारिस गरिएका अन्यमा एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवर छन् ।

आयोगका एक जना सदस्यले बताएअनुसार, ब्यूरोले सुन प्रकरणका एक जना अभियुक्त जीवन चलाउनेलाई बयान कागज गराएर छाडेका थिए । एसपी थापाको कार्यकक्षमा तीन घन्टा बढी बयान दिएपछि उनलाई कागज गरेर छाडिएको थियो ।

चलाउनेलाई उन्मुक्ति दिने सीआईबीको तयारीका बीच यो विषय प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसम्म पुगेपछि उनलाई प्रतिवादी बनाउन कुँवरले निर्देशन दिएका स्रोतको दाबी छ । यसपछि उनको बयान कागज च्यातेर फालिएको पाइएको आयोगका स्रोत बताउँछ ।

आयोगले कमजोरी औंल्याएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको प्रस्तावमा शुक्रबारै मन्त्रिपरिषद् बैठकले सीआईबी प्रमुख बज्राचार्यलाई सरुवा गर्ने निर्णय गरेको छ । उनको ठाउँमा कार्य विभागका एआईजी श्याम ज्ञवालीलाई पठाइएको छ ।

ज्ञवाली तिनै अधिकृत हुन्, जसलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उपत्यका प्रहरी प्रमुखबाट हटाइएको थियो ।

यद्यपि, शुक्रबार अपराह्न अनलाइनखबरसँग भिडियो कलमा उपलब्ध भएका फरार अभियुक्त जीवन चलाउनले ज्ञवालीले आफूसँग आईजीपी बन्ने दौडमा रहेका बेला एक करोड रुपैयाँ मागेको गम्भीर आरोप लगाएका छन् ।

ज्ञवालीले भने आफू त्यसबेला सीआईबीमै नभएकाले चलाउनेले भनेका विषय सम्बन्धित नै नभएको प्रतिक्रिया दिएका छन् । ‘पहिले उन्मुक्ति पाउने स्थिति थियो, अहिले थ्रेट महसुस भएपछि यस्तो भनेको होला, त्यसबाहेक मेरो ऊसँग केही सम्बन्ध छैन’, उनले भने ।

सीआईबीका डीएसपी दाहाल र कुँवरलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ । दाहाल सुन प्रकरणका अनुसन्धान अधिकृत थिए भने कुँवर ब्यूरोमा मुद्दा शाखामा थिए ।

कुँवर चलाउनेसँग नियमित सम्पर्कमा रहेको पाइएको आयोगले उल्लेख गरेको छ ।

किरण बज्राचार्य, सञ्जयसिंह थापा, दुर्गा दाहाल, रुगम कुँवर ।

एसपी थापा र दाहालले भने आफूसँग ६० लाख रुपैयाँ मागेको अभियुक्त चलाउनले दाबी गरेका छन् ।

‘मलाई बाजेको सेकुवामा भेट्न बोलाउनु भयो र ६० लाख अफर गर्नुभयो’, उनले भने, ‘सञ्जय थापाको घर बन्दैछ भन्नुभयो, मैले कहाँबाट पैसा दिनेभन्दा अनि ३० लाख त दिनुस् भन्नुभयो, मैले ३० पनि दिइनँ । त्यसपछि प्रतिवादी बनाउनुभयो ।’

पूर्वसभामुखलाई मुद्दा चलाउन सिफारिस, सरकारी वकिललाई पनि कारबाही

आयोगले सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।

महरा र गुरुङको भेपमार्फत सुन तस्करी गर्ने गिरोहका चिनियाँ नाइके दावाजिन वाङसँग नियमित सम्पर्क रहेको फेला परेको आयोगका एक जना सदस्य बताउँछन् । गुरुङको सम्बन्ध देखिएपछि शुक्रबार उनीविरुद्ध मुद्दा दर्ता समेत भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गराएको हो । महराको हकमा सीआईबीले उन्मुक्ति दिएकाले फेरि मुद्दा चलाउनुपर्ने सिफारिस गरेको आयोग स्रोत बताउँछ ।

जीवन गुरूङ

स्रोतका अनुसार, आयोगले बेल्जियन नागरिक दावाजिन वाङका साझेदार मञ्जिल श्रेष्ठलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । उनको ६० किलो सुनका आरोपी दावा छिरिङसँग सम्बन्ध देखिएको थियो ।

दावाले उनलाई वीच्याटमा ‘पानी तान्ने मेसिन’को फोटो पठाउँदै ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क (ठूलो नगद रकम, मलाई राम्रोसँग थाहा छ । तपाईसँग कुरा गर्नुपर्ने छ । मेरो केही काम छ)’ भनेका छन् ।

आयोगले यो गिरोहले पानी तान्ने मेसिनमा राखेर समेत सुन ल्याएको हुनसक्ने आशंका गरेको छ । तर, त्यसतर्फ गम्भीर अनुसन्धान नै भएन । कतिसम्म भने अधिकारीको मोबाइलको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टसमेत सीआईबीले आयोगलाई बुझाएन ।

‘आयोगले बाटो देखायो, थप अनुसन्धान बाँकी’

प्रहरीले सुनमा जोडिएका कतिपयलाई जोगाएको भन्दै त्यसबेला प्रतिपक्षमा रहेको नेकपा एमालेले निरन्तर संसद् अबरुद्ध पारेको थियो । त्यसपछि प्रतिपक्षीको माग अनुसार सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो ।

आयोगले बिहीबार बुझाएको ८८५ पृष्ठको प्रतिवेदनमा सुन सम्बन्धी अनुसन्धानमा देखिएका कमजोरीहरु सुक्ष्म गरी औंल्याएको छ । केहीलाई मुद्दा चलाउन सिफारिस पनि छ । प्रतिवेदनको निष्कर्ष पढिसकेपछि अनलाइनखबरसँग कुरा गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसलाई कार्यान्वयनमा लैजाने बताएका थिए ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की  आयोगले दिएका विषय सबैथोक नभएपनि थप अनुसन्धानका लागि मार्गनिर्देश बन्ने बताउँछन् । ‘आयोगले जाँचबुझे गर्ने हो, संकेत दिने हो, यसले भनेपछि त्यसमा टेकेर थप अनुसन्धान गर्नलाई सहज भएको छ’, उनले अनलाइनखबरसँग भने, ‘सरकारले त्यसका लागि थप अनुसन्धान गराउनुपर्छ ।’

उपप्रधान एवं गृहमन्त्री लामिछानेले बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर यसमा भएका विषय ब्रिफिङ समेत गरेका थिए । शुक्रबार पनि प्रधानमन्त्री प्रचण्डसँग उनले यसबारे छलफल गरेर प्रतिवेदन बुझाएका थिए ।

साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अनलाइनखबरलाई बताए ।

आयोगको प्रतिवेदनले प्रशस्त प्रश्नहरु उठाएको परिस्थितिमा थप अनुसन्धान हुनुले सीआईबी र संगठनलाई फाइदा नै हुने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । भन्छन्, ‘बदमासी भएको ठाउँमा अनुसन्धान हुनुपर्छ, सीआईबीमाथि प्रश्न उठेको छ, थप अनुसन्धानले त्यसलाई क्लीयर गर्न पनि मद्दत गर्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?