+
+

सीआईबीले सुन आयोगलाई दिएन सह-सचिव अधिकारीको मोबाइल जाँच रिपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १४:०९

५ चैत, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित उच्चस्तरीय आयोगलाई छानबिनमा असहयोग गरेको भेटिएको छ ।

ब्यूरोले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट नै नदिएको पाइएको हो । आयोगका एक सदस्यका अनुसार, लिखित पत्राचार र पटकपटक मौखिक आग्रह गर्दा समेत ब्यूरोले अधिकारीको डीएफएल रिपोर्ट नदिएको हो ।

सुन तस्करी प्रकरणका मुख्य आरोपित बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएको थियो । दावाले अधिकारीलाई वीच्याट म्यासेन्जरमा पानी तान्ने मेसिनको फोटो बनाएका थिए । ‘ठूलो रकम’बारे कुरा गर्नुपर्ने व्यहोराको सन्देशसमेत पठाएका थिए ।

सीआईबीले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, आयोगले गरेको जाँचका क्रममा पानी तान्ने मेसिनभित्र लुकाएर समेत सुन तस्करी भएको हुनसक्ने देखिएको थियो । ‘उनको मोबाइलको डिएफएल रिपोर्ट मागेका थियौं, तर सीआईबीले दिएन’, आयोगका एक सदस्यले भने, ‘अधिकारीको रिपोर्ट आएको भए सुनतस्करीको छानबिन अझै माथिसम्म जान सक्थ्यो ।’

तर, ब्यूरोबाट पर्याप्त सहयोग नभएपछि उनलाई थप अनुसन्धान गर्नुपर्ने सूचीमा राखिएको छ । स्रोतका अनुसार, आयोगमा उनलाई मुद्दा चलाउनुपर्ने माग समेत उठेको थियो । यद्यपि, पर्याप्त विवरण उपलब्ध नहुँदा सम्भव भएन ।

त्यसो त सीआईबीले पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनको समेत विस्तृत विवरण दिएन । सीआईबीले उनले नयाँ मोबाइल दिएको दाबी गर्‍यो । तर, पुनले आफ्नो मोबाइल जाँचको रिपोर्ट ब्यूरोका अधिकृतहरुले देखाएको आयोगसमक्ष बयानमा भनेका थिए ।

अधिकारी र दिपेश मात्र होइन, सुन तस्करीका नाइके दावा छिरिङको समेत सम्पूर्ण विवरण ब्यूरोले नदिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

आयोगको जाँचका क्रममा सीआईबीले सुन प्रकरणका एक अभियुक्त जीवन चलाउनेलाई कार्यालयमा ल्याएर कागज गराएर छाडेको पाइएको छ ।

ब्यूरोका तत्कालीन एसपी सञ्जयसिंह थापाको कार्यकक्षमा कागज गराएर छाडेको पाइएको हो । पछि प्रहरी महानिरीक्षक वसन्त कुँवरसम्म यो कुरा पुगेपछि ब्यूरोले प्रतिवादी कायम गरेको थियो ।

अनुसन्धानमा गम्भीर त्रुटि देखिएको निष्कर्षसहित आयोगले ब्यूरोका तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले प्रतिवेदन बुझाएपछि बज्राचार्य, थापा, दाहाल र कुँवर चारै जनालाई जिम्मेवारीबाट हटाइएको छ ।

ब्यूरोको नयाँ प्रमुखमा अहिले एआईजी श्याम ज्ञवाली पठाइएका छन् । तर, सुन प्रकरणका आरोपी चलाउनेले आफूलाई महानिरीक्षक बन्ने दौडमा रहेका बेला ‘एक करोड मागेको’ विवादास्पद बयान दिएपछि नयाँ प्रमुख ज्ञवाली पनि विवादमा छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकसमेत उनीबारे प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?