+
+

सुन जाँचबुझ आयोगका अध्यक्ष : साढे ५ महिना दबाब भोगें, अब प्रतिवेदन कार्यान्वयनमा गयो

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत ५ गते २०:३८

५ चैत, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको चार दिनपछि सोमबार मात्रै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार कपिलवस्तुबाट रोल्पा जाँदै गर्दा प्रहरीले महरालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका महरालाई काठमाडौं ल्याएर चार दिन म्याद समेत थप गरेर अनुसन्धान अघि बढाइएको छ । सत्ताको नेतृत्व गरेको दलका प्रभावशाली नेता महरा हुँदै गर्दा उनलाई पक्राउ गरेर मुद्दा चलाउन सिफारिस दिने आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश डिल्लीराज आचार्य अनलाइनखबरको सम्पर्कमै थिए ।

‘महरालाई पक्राउ गरेछन् अब प्रतिवेदन कार्यान्वयनमा गयो’ आचार्यले भने, ‘हामीले मुद्दा चलाउन सिफारिस गरेका मध्ये सबैभन्दा शक्तिशाली र सत्ताको नेतृत्व गरेका दलका नेता नै पक्राउ परेपछि अरु बाँकी रहलान् र ?’

आयोगले कसरी काम गर्‍यो र कति प्रभाव झेल्नु पर्‍यो भन्ने जिज्ञासा राख्दा आचार्यले त्यससँगै जोडिएका दबाबका शृंखलाहरु सम्झना गरे । त्यसको पृष्ठभूमि समेत सुनाए । असोज १० गते अवकाशमा जाँदै गरेका उनलाई ‘शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडित आयोग’ मा काम गर्ने प्रस्ताव थियो । सुरुमा उनले चाहना राखेनन् ।

पछि आवश्यक परेमा काम गरौंला भन्ने मनसाय बनाएका उनी वन्यजन्तु पीडितका वेदना सुन्ने सोचमा भुल्दै थिए । असोज १४ गते एकै पटक समाचारबाट थाहा पाए– सुन जाँचबुझ आयोगको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त ।

वन्यजन्तु पीडित घाउमा मल्हम लगाउनुपर्ने विषय मथिंगलमा राखेका आचार्यको दिमाग अब सुन तस्करका आकृति घुम्न थाले । सम्बन्धित विषयका समाचार आउँदो चासो साथ हेरे ।

आयोगमा बसेर साढे ५ महिनाको काम गर्दाको उनको अनुभव ४३ वर्षको जागिरे जीवनमा समेत थिएन ।

घरको चोटा–कोठामै छिरेर भेट्नेदेखि फोनबाट समेत आचार्यलाई दबाब आयो । आयोगमा काम गर्दाको दबाबबारे आचार्य भन्छन्, ‘४३ वर्ष जागिर खाइयो । न्यायालयमा १४ वर्ष बिताएँ । तर त्योभन्दा बढी टेन्सन र प्रेसर यो साढे ५ महिनामा भयो ।’

२ साउनको राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो ७०० ग्राम सुन बरामद भएपछि नेकपा एमालेले यसको छानबिनका लागि उच्चस्तरको आयोग गठनको माग गरेको थियो ।

दलीय सहमतिका आधारमा सरकारले १४ असोजमा आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य थिए ।

आयोगले छानबिन सकेर १ चैतमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाइसकेको छ । तर आचार्य अझै पनि उस्तै प्रेसरमा छन् ।

अध्यक्ष आचार्यले छानबिनका क्रममा केही व्यक्तिले आफ्नो घरसम्मै आएर दबाब दिएको बताए । ‘प्रधानमन्त्री र गृहमन्त्रीबाट कुनै दबाब आएन । अन्य व्यक्ति तथा निकायबाट दबाब आयो । दबाबको लागि घरमै समेत केही मान्छे आएका थिए’ अध्यक्ष आचार्यले अनलाइनखबरसँग भने, ‘तर सकेसम्म मैले कसैलाई भेट नै दिइनँ । घरमै आएकासँग भेट भयो । यस्तो कुरा नगर्नुस् भनेर मैले पठाएँ । दबाबकै भरमा कसैलाई दोषी र कसैलाई उन्मुक्ति गरिएको छैन ।’

उच्च तहका नेतादेखि शक्तिकेन्द्रमा रहेका व्यक्तिसम्म बाट दबाब आएको उनको भनाइ छ । ‘घरमा हुँदा पनि छैन भनेर ढाँट्ने गरेको थिएँ । तर घरमा छैन भनेको बेला घरमाथिबाट यसो तल हेर्दा दोहोरो देखादेख भएपछि ती व्यक्तिसँग भेट भयो, गफ भयो । उहाँको कुरा सुरुमै मैले बुझिहालें यस्तो कुरा नगर्नुस् है भनेर पठाइदिएँ’ आचार्यले भने ।

काम गर्ने क्रममा पनि आयोगलाई सरकारले पनि पर्याप्त सहयोग नगरेको आचार्यले बताए । कर्मचारी माग्दा ५ जना मात्र दिइएको र उनीहरुलाई पनि आयोग र गृह मन्त्रालय दुवैतर्फ काम गर्न भनेकाले समस्या परेको आचार्यले बताए । छानबिनको काम सहज बनाउन राजश्व अनुसन्धान विभागका कर्मचारी माग्दा नदिएको आचार्यको भनाइ छ ।

आयोगले हाल पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग समेत बयान लिएको थियो । माघ २५ गते सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर उक्त बयान भएको थियो । त्यस बयानका क्रममा समेत महराले दाओजिन वाङसँग आफ्नो सम्पर्क रहेको समेत स्वीकार गरेका थिए ।

त्यस्तै विद्युतीय चुरोट भेप मार्फत भएको ९ किलो सुन तस्करीमा समेत विमानस्थलका कर्मचारीलाई फोन गरेको विषय महराले स्वीकार गरेका थिए । भेप मार्फत भको सुन प्रकरणमा समेत महराले गत १५ असोजमा सीआईबीमा बयान दिएका थिए ।

दाओजिनसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्वीकारेका थिए । वाङले आफू फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर विमानस्थलको तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको भन्दै सुन तस्करीबारे जानकारी नै नभएको दाबी गर्दै बयान दिएका थिए ।

आयोगले महराको बयान लिनुका साथै उनको मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा जाँचका लागि पठाएको थियो । उक्त मोबाइलबाट धेरै कुराहरु खुल्न सक्ने विश्वास आयोगले लिएको थियो । अन्तिम चरणमा महराको बयान लिएर मोबाइल डीएफएलमा पठाएको आफूहरुले रिपोर्ट भने बुझ्न नपाएको आचार्यको भनाइ छ ।

अनुसन्धानको क्रममा महराले चिनियाँ सुन तस्करलाई गाडी उपलब्ध गराएको र सोही गाडीमा राखेर सुन ओसारपसार भएको आयोगले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

भेप मार्फत नै भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी अहिले पुर्पक्षमा थुनामा छन् । थुनामै रहेका राहुलसँग समेत आयोगले बयान लिएको थियो ।

आयोगले महरालाई मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सोमबार मात्रै कपिलवस्तुबाट महरालाई प्रहरीले पक्राउ गरेको थियो । महरालाई काठमाडौं ल्याएर चार दिन म्याद थप गरिएको छ । यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई संगठित अपराधको मुद्दा समेत जोडेर ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेकाले महरा सहितका प्रतिवादीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ ।

म्याद थप भएसँगै अब अनुसन्धानले तीव्रता पाउने सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताएका छन् । ‘अब आयोगको प्रतिवेदन अध्ययन हुन्छ र कारबाही प्रक्रिया अघि बढाइन्छ’ एआईजी ज्ञवालीले भने ।

पुस १५ गते आयोगको म्याद सकिएपछि म्याद थपका लागि भन्दै आयोगले सरकारसमक्ष ३ महिना माग गरेको थियो । तर सरकारले आयोगलाई २ महिनाको मात्रै समय दिएको थियो । ‘हामीले ३ महिना माग्दा २ महिना मात्रै समय पाएपछि मुख्य जिम्मेवारी नै सक्ने गाह्रो भयो अन्य पाटोमा प्रवेश गर्न सकिएन’ आचार्यले भने ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?