
६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने बताएका छन् ।
मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा उनले जनतामा आशा जगाउनकै लागि यो गठबन्धन बनाएको बताए ।
‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ’, उनले भने ।
अहिलेको समीकरण आफू प्रधानमन्त्री पदमा रहिरहनका लागि नभई नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको उनले बताए ।
नयाँ गठबन्धन बनेको केही दिनमा नै राम्रो काम भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सडकमा जायज माग राखेर भइरहेका विरोधलाई सम्बोधन गरिएको बताए । सडकमा जथाभावी माग राखेर हिँड्नेहरुलाई भने कारबाही गर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुलाई पनि विगतको भन्दा नयाँ ढंगले काम गर्न निर्देशन दिए ।
‘हिजोको घोषणा र आजको घोषणा, हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ । विकास र समृद्धिको यात्रा प्रारम्भ गर्दैछौं भनेर सेवा प्रवाह गर्नुपर्छ’, उनले भने, ‘फेरि एकचोटी हामीले कामद्वारा, परिणामद्वारा जनताको भरोसा जित्नुछ ।’
प्रतिक्रिया 4