
९ चैत, काठमाडौं । सोलुखुम्बुको लुक्लामा प्रतिकूल मौसमका कारण विमानस्थल खुल्न नसक्दा निजी हेली प्याडमा एकै पटक चार वटा हेलिकप्टर रोकेर राख्नु परेको छ । शुक्रबार माउन्टेन, फिस्टेल, कैलाश र एयर डाइनेस्टीको जहाज सुर्केमै रात्रि बिसान गर्नु परेको छ ।
लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार शुक्रबार लुक्लामा हेलिकप्टरहरु जान सक्ने अवस्था नभएपछि सुर्केमा चार हेलिकप्टरको रात्री बिसान गर्नु परेको हो ।
शनिबार मौसम राम्रो भए हेलिकप्टर लुक्ला आउने र नभए सोही स्थानबाट काठमाडौं फिर्ता हुन सक्ने उनले बताए ।
पछिल्लो समय सुर्के लुक्लाको विकल्पका रुपमा प्रयोग भइरहेको छ ।
तर, यहाँ प्राधिकरण वा सुरक्षा निकायको उपस्थिति नहुनु र आपतकालीन सुविधा समेत नहुँदा सुरक्षाको इस्यु भने रहने गर्छ ।
मौसममा आएको परिवर्तनले लुक्लामा पछिल्लो केही दिनयता उडान प्रभावित बनेको पन्थीले जानकारी दिए ।
उनका अनुसार जहाजले भने शुक्रबार २० वटा उडान गरेका थिए । यहाँ रामेछाप र काठमाडौंबाट नियमित उडान हुन्छ ।
पर्वतारोहण र पदयात्रा सिजन सुरु भएसँगै काठमाडौंबाट लुक्ला जाने यात्रको अब चाप अधिक हुन थाल्छ । लुक्लामा एक दिन मात्र पनि उडान प्रभावित भए सयौं यात्रुको यात्रा रोकिन्छ ।
प्रतिक्रिया 4