
काठमाडौं । ‘महाजात्रा’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त उत्साहजनक डेब्यु गरेको छ । प्राप्त शोअनुसार शुक्रबार र शनिबारको देशव्यापी अकुपेन्सी आक्रामक थियो ।
वितरण कम्पनी डिजिटल सिनेमा नेपालले दुई दिने कमाइ ३.६ करोड ग्रस रहेको बताएको छ । वितरक अशोक शर्माले दुई दिनमा दर्शकीय प्रतिक्रिया हेर्दा यो फिल्म लामो समय चल्न सक्ने बताए ।
‘म आफैंले शनिबार दर्शकसँग बसेर फिल्म हेरें । पब्लिकले इन्जोय गरेका छन् । लामो समय चल्न सक्ने मैले देखेको छु,’ उनले भने, ‘दुई दिनको कलेक्सन हेर्दा व्यावसायिक भविष्य पनि उत्साहप्रद देखिन्छ ।’
फिल्मले देशव्यापी २५० शो प्राप्त गरेको थियो । फागु पूर्णिमाको दिनमा आइतबारको कलेक्सन पहिलो दिनको हाराहारीमा हुने प्रक्षेपण वितरक शर्माले गरे । तर होलीको दिनमा दिउँसो १ बजेपछि मात्र शो निर्धारण गरिएको र बढी चल्ने भाटभटेनीका हल बन्द हुने भएकाले व्यापार प्रभावित हुनसक्ने देखिएको छ ।
तराई क्षेत्रमा समेत रहेका भाटभटेनीका हल सोमबार पनि बन्द हुनेछन् । ‘होलीमा पहिलो दिन बराबरको कलेक्सन हुने देखिएको छ,’ शर्माले भने । पहिलो दिन फिल्मको कमाइ १.२३ करोड ग्रस रहेको डीसीएनको विवरणमा उल्लेख छ ।
चलचित्र विकास बोर्डको डेटाअनुसार ‘जात्रा’को दोस्रो श्रृंखलाले ७ करोड बराबर कमाइ गरेको छ । तर निर्माताले त्यतिबेला ११ करोड कमाइ गरेको उल्लेख गरेका थिए । फिल्मको पहिलो श्रृंखलालाई दर्शक र समीक्षकले निकै रुचाएका थिए ।
फिल्मले अष्ट्रेलिया लगायतका मुलुकका डायस्पोरामा समेत राम्रो ओपनिङ गरेको सामाजिक सञ्जालमा सेयर गरिएका पोस्टहरुमा देख्न सकिन्छ । प्रदीप भट्टराई निर्देशित फिल्ममा विपिन कार्की, रवीन्द्र झा, रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य र वर्षा राउतको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4