
काठमाडौं । दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गर्दै आएको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । चैत १४ देखि २५ गतेसम्म सञ्चालन हुने सिनेमा साक्षरता अभियान देशका प्रमुख १० सहरमा गर्न लागिएको अस्कर कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पूर्वको बिर्तामोडबाट सुरु हुने सिनेमा साक्षरता अभियान विराटनगर, इटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर समापन हुनेछ ।
कलेजका प्राध्यापक रामराजा दाहालले भने, ‘नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो अभियान गर्न लागिएको हो । सिनेमाका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकाले काठमाडौं बाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान सञ्चालन गर्न लागेका हौं ।’
विशेषगरी प्लस टु सकेर स्नातक तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरिएको यो अभियानमा हरेक सहरमा एकदिने कार्यशालामार्फत सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन् ।
कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरु, सिनेमा इतिहास, चरित्रलगायत विषयमा जानकारी दिइनेछ ।
नयाँ पस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरिएको र यो सिनेमा साक्षरता अभियानले फिल्मप्रति हुटहटी जगाउने अस्कर कलेजको अपेक्षा छ ।
प्रतिक्रिया 4