
१८ चैत, काठमाडौं । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो ।
हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त थियो ।
राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा महालेखापरीक्षक नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । महालेखापरीक्षकको पदावधि ६ वर्षसम्म हुन्छ ।
महालेखापरीक्षक सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय हो । संवैधानिक परिषदको सचिवालयले २० साउनमा महालेखापरीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिने अन्तिम मिति २ भदौसम्म १६ जनाले महालेखापरीक्षक बन्न दावेदारी प्रस्तुत गरेका थिए ।
तोयम रायासहित कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्ले र उपमहालेखा परीक्षक बामदेव शर्मा अधिकारी मुख्य प्रतिस्पर्धामा थिए ।
पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल र बाबुराम गौतमले पनि महालेखापरीक्षक पदका लागि आवेदन दिएका थिए ।
महालेखाबाटै सेवानिवृत्त सहसचिव अशोक कार्की, महालेखामै नायब महालेखापरीक्षक (सहसचिव) पदमा कार्यरत सहसचिव बैकुण्ठबहादुर अधिकारी, चन्द्रकान्त भण्डारी, चार्डर्ट एकाउन्टेन्टहरु सुबोधकुमार कर्ण र हरि सिलवालले दाबी पेश गरेका थिए ।
प्रतिक्रिया 4