
१८ चैत, काठमाडौं । सभामुखले हालै गरेको स्वीट्जरल्याण्ड भ्रमण टोलीमा महिलाको सहभागिता न्यून गराइएको भनी संसद्मै प्रश्न उठेको छ ।
८ चैतदेखि सभामुख देवराज घिमिरेको नेतृत्वमा १० सदस्यीय टोली अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन स्वीट्जरल्याण्ड गएकाे थियाे ।
टोलीमा एक जना मात्रै महिला राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासे थिइन् ।
सभामुख घिमिरेसहित सांसदहरू रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार, संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद्का उपसचिव प्रदीप गुरागाईं सहभागी थिए ।
१० जनाको टोलीमा एक जना मात्रै महिला रहनु बिडम्बनापूर्ण रहेको भन्दै नेपाली कांग्रेसकी सांसद् रमा कोइराला पौड्यालले प्रश्न उठाएकी हुन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा उनले भनिन्, ‘हाम्रो संसद्मा ३३ प्रतिशत महिला हुनुहुन्छ भनेर भाषण नगरे पनि ‘साइड’ कुरा भए होला । तर जाने बेलामा ६ जना सांसदमा १ जना मात्रै महिला लगियो ।’ उनले भनिन्, ‘संविधानले महिलालाई संसद्मा बसेर टेबल ठोक्नका लागि मात्रै सांसद बनाएको हैन होला ? त्यस्ता कार्यक्रमहरूमा भाग लिन जाँदा एक तिहाइ महिला त लानुपर्थ्याे होला नि ।’
संसद् सचिवालयका ४ जना कर्मचारी जाँदा एक जना पनि महिला नअटाएको भनी उनले प्रश्न उठाइन् । पौड्यालले भनिन् ‘यो संसद् सचिवालयभित्र महिला कर्मचारी हुनुहुन्न ? हुनुहुन्छ भने किन १ जना पनि अटाउनु भएन ?’
प्रतिक्रिया 4