
१८ चैत, काठमाडौं । सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ । आयोजना निर्माण गत असारबाट सुरु भएको हो । आयोजना आगामी माघभित्र सक्ने लक्ष्य कम्पनीको छ
ह्याबिट्याट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको आयोजना पाँचथरस्थित हेवा खोलामा निर्माणाधीन छ ।
आयोजना निर्माण सुरु भएको नौ महिना नपुग्दै करिब ५० प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए ।
उनका अनुसार लक्ष्यभन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सिर्जना नभए २०८१ माघभित्र निर्माण सम्पन्न हुनेछ । आयोजनाको बाँध, विद्युतगृह लगायत मुख्य संरचना निर्माण निर्धारित लक्ष्यभन्दा बढी छ ।
आयोजनामा प्रयोग हुने पेनस्टक पाइप नेपाल आइसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भइरहेको समेत उनले जानकारी दिए । विद्युतगृहमा जडान हुने उपकरण खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको पौड्यालले बताए ।
प्रतिमेगावाट १८ करोड ५० लाख रुपैयाँबराबर लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी छ ।
प्रतिक्रिया 4