
२० चैत, काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।
यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।
खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।
के थियो घटना ?
१५ भदौ २०६५ मा कोटेश्वरबाट व्यापारी रामहरि श्रेष्ठको अपहरण भएको थियो । श्रेष्ठलाई अपहरण गरेर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा राखिएको थियो ।
१४ चैत २०६४ मा श्रेष्ठको घरबाट १७ लाख रुपैयाँ चोरी भएको थियो । त्यसपछि माओवादी लडाकुको निशानामा व्यापारी श्रेष्ठ परेका थिए ।
व्यापारी श्रेष्ठलाई खामको निर्देशनमा अपहरण गरी शक्तिखोर पुर्याइएको थियो । माओवादी लडाकुहरुले कुटपिट गरी गम्भीर घाइते बनाएर श्रेष्ठलाई फालेका थिए । २८ वैशाख २०६५ मा नारायणी नदीमा व्यापारी श्रेष्ठको शव भेटिएको थियो ।
त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले श्रीमानको अपहरण गरी हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
हाल पक्राउ परेका खाम त्यतिबेला शक्तिखोरस्थित माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर थिए । खामसँगै, गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो ।
१७ जेठ २०६८ मा उक्त मुद्दाको फैसला भएको थियो । जसमा बटालालाई तीन वर्ष कैदको फैुला सुनाइएको थियो । खाम, अधिकारी, थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा मुल्तबीमा राखिएको थियो । कार्कीको हकमा भने २० रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
जिल्लाको फैसलाविरुद्ध सरकारी वकिल कार्यालय पुनरावेदनमा गएको थियो । पुनरावेदन अदालत हेटौडाले ५ माघ २०७० मा जिल्लाकै फैसला सदर गरेको थियो ।
उक्त मुद्दा त्यहाँबाट पनि पुनरावेदनबाट पनि सर्वोच्च आइपुगेको थियो । १८ फागुन २०७६ मा सर्वोच्चले बटालालाई भने सफाइ दिएको थियो ।
खाम, अधिकारी र थापा फरार भएकाले उनीहरुको हकमा केही पनि भएको थिएन । कार्कीको हकमा भने जिल्लाकै २० रुपैयाँको फैसला सदर भएको थियो ।
प्रतिक्रिया 4