
२० चैत, काठमाडौं । नेपालले प्रत्येक वर्ष भारतसँग धान आयात गर्न अर्बौं खर्च गर्ने गर्छ । ४ साउन २०८० देखि भारतले बासमती बाहेक चामलमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउन अगाडि ११ महिना नेपालमा ४५ अर्ब २९ करोड रुपैयाँको धान–चामल आयात भएको छ । यो भनेको २८ अर्ब ५० करोड रुपैयाँको चामल र १५ अर्ब ९२ करोडको धान हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा वार्षिक करिब ७० लाख टन धान आवश्यक पर्छ । जसमध्ये नेपालको आफ्नै उत्पादन ५४ लाख टन मात्रै हो ।
त्यस्तै वर्षको ४८ लाख टन चामल चाहिन्छ । जसमा ३० लाख टन भात खानमात्र चाहिन्छ । अन्य उत्पादन चिउरा, चामलको पिठोबाट बन्ने परिकारका लागि पनि खपत हुन्छ ।
उद्योग मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले मुलुकको आन्तरिक उत्पादनले नपुग्ने भएपछि आयात गर्नुपर्ने बताए । भारतले निर्यातमा रोक लगाउनुभन्दा अगाडि ११ महिनाको भन्सार विभागको तथ्यांकअनुसार दैनिक औसत करिब साढे १३ करोडको धान र चामल आयात भइरहेको थियो ।
तर, नेपालमा धान आयात कम गराउन वा धानमा आत्मनिर्भर गराउन ‘चैते धान’ उपयुक्त हुने देखिएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा चैते धान उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै छ । उक्त क्षमता अनुसार खेतीको क्षेत्रफल पनि विस्तार गर्ने हो भने नेपालमा धान उत्पादन बढ्ने देखिएको विज्ञ बताउँछन् ।

चैते धानले बढाउँछ उत्पादन
कृषि प्रधान देश भए पनि धान चामलकै संकट समाधान गर्न सरकारले चैते धान प्रवर्द्धन गर्नुपर्ने उद्योग मन्त्रालयका प्रवक्ता ठाकुर बताउँछन् ।
‘चैते धान उत्पादन बढाउने हो भने असारे र चैते धानले नेपालको संकट केही हल हुन्छ । ठूला उद्योगीले व्यावसायिक धान खेतीमा जोड दिनुपर्छ,’ उनले भने, ‘स्वेदशी उत्पादन नभएसम्म हाम्रा चामल उद्योगलाई पनि गाह्रै हुन्छ । धानको आन्तरिक उत्पादन बढाउनुको विकल्प छैन ।’
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली वैज्ञानिक विवेक सापकोटा चैते धान वर्षे धानभन्दा धेरै उत्पादन हुने बताउँछन् ।
‘धान फोटोजेनिक बाली हो । घाम धेरै लाग्दा धान उत्पादन धेरै हुन्छ । वर्षामा भन्दा हिउँदमा चैते धान धेरै फल्नु मुख्य कारण यही हो,’ सापकोटाले भने ।
उनले नेपालमा चैते धान खेती विस्तार गर्न सके उत्पादन धेरै बढाउन सकिने बताए । ‘उत्पादन क्षमता अनुसार चैते धान खेती क्षेत्र पर्याप्त नै भएन,’ वैज्ञानिक सापकोटाले अनलाइनखबरसँग भने, ‘धेरै क्षेत्रफलमा खेती गर्न सके उत्पादन धेरै नै हुने थियो तर सिंचाइ अभावको समस्या छ ।’
सिंचाइसँगै धान भित्र्याउने आधुनिक मेसिन प्रयोगमा किसानलाई सरकारले प्रोत्साहन दिनुपर्ने उनी बताउँछन् ।
‘चैतमा लगाएको धान भित्र्याउने बेला मनसुन सुरु हुन्छ, जसले गर्दा किसानको पाकेको धान भिज्ने, असिनाले झार्ने हुन्छ,’ उनले भने, ‘त्यसकारण चैते धानमा किसानको आकर्षण कम छ, यसका लागि धान भित्र्याउँदा सुक्खा पारेर स्टोरेज गर्न मिल्ने खालका मेसिन किसानलाई दिनुपर्छ ।’
उनले चैते धान लगाउँदा छोटो समयमा फल्ने बीउ प्रयोग गर्नुपर्ने बताए । ‘वर्षे धान पनि छोटो र चैते धान पनि छोटो समयमा फल्ने लगाउँदा एउटै खेतमा दुई बाली धान भित्र्याउन र लगाउन सजिलो हुन्छ,’ उनले भने ।
असारेभन्दा चैते धान उत्पादन हेक्टरमा १.२४ टन धेरै
देशभरिको तथ्यांक हेर्ने हो भने चैते धान खेती असारेभन्दा निकै कम भए पनि उत्पादन क्षमता भने असारेको दाँजोमा राम्रो हुने गरेको छ । गत वर्षको उत्पादन हेर्ने हो भने नेपालमा चैते धान १ लाख ८ हजार ६ सय ७ हेक्टरमा खेती हुँदा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको थियो । जुन ४.९८ टन प्रतिहेक्टर हुन्छ ।
तर, असारे धान १३ लाख ३९ हजार १ सय ८२ हेक्टरमा खेती हुँदा ४९ लाख ४६ हजार १ सय ४१ टन अर्थात् ३.७४ टन प्रतिहेक्टर मात्रै हुने देखिएको छ ।
असारे र चैते गरी नेपालमा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा धान खेती हुन्छ । जसबाट नेपालले वर्षमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन हुन्छ । नेपालको धान उत्पादन क्षमता ३.७९ टन प्रतिहेक्टर छ ।
कुन प्रदेशमा कति उत्पादन ?
आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा चैते धान ५८ हजार १ सय ९ हेक्टरमा खेती भएको थियो । जसबाट १ लाख २ सय २६ टन धान उत्पादन भएको थियो ।
कोशीमा चैते धान ५.१७ टन प्रतिहेक्टर उत्पादन भएको थियो । जबकि, मुख्य सिजनमा २ लाख ७४ हजार ५ सय ८ हेक्टरमा खेती हुँदा १० लाख ३५ हजार अर्थात् ३.७७ टन प्रतिहेक्टर मात्रै उत्पादन हुने गरेको तथ्यांकले देखाउँछ ।
यस्तै मधेश प्रदेशमा चैते धान २१ हजार ८ सय ९९ हेक्टरमा खेती हुँदा १ लाख ७ हजार ५ सय ३४ टन उत्पादन भएको छ, जुन ४.९ टन प्रतिहेक्टर हुन आउँछ । जबकि, असारमा ३ लाख ५३ हजार ४ सय ४१ हेक्टरमा धान खेती हुन्छ, तर उत्पादन प्रतिहेक्टर ३.६३ टन मात्रै छ जुन १२ लाख ८१ हजार ३ सय ८ टन हो ।
बागमती प्रदेशमा पनि असारभन्दा चैतमा लगाएको धान उत्पादन क्षमता धेरै देखिन्छ । बागमतीको चैते धान उत्पादन ४.५४ टन प्रतिहेक्टर छ ।
बागमतीमा गत आव चैते धान खेती १८ हजार १ सय २३ हेक्टरमा भएको थियो भने उत्पादन ८२ हजार ३ सय ११ टन थियो । तर, असारमा यो प्रदेशमा १ लाख १२ हजार १ सय ९१ हेक्टरमा खेती हुँदा ४ लाख १८ हजार १ सय ३५ टन उत्पादन भएको थियो । अर्थात्, वर्षामा धान उत्पादन क्षमता प्रतिहेक्टर ३.७३ टन मात्रै छ ।
गण्डकी प्रदेशमा ५ हजार ८ सय ७० हेक्टरमा मात्रै चैते धान खेती हुँदा हेक्टर ४.६७ टन अर्थात् २७ हजार ४ सय ३७ टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ ।
तर, असारमा हुने धान १ लाख ५ सय १० हेक्टरमा खेती हुँदा ३ लाख ६३ हजार ६ सय ८४ टन अर्थात् ३.६७ टन प्रतिहेक्टर मात्रै उत्पादन भएको देखिन्छ । जुन चैते धानभन्दा एक टन प्रतिहेक्टर कम हो ।
त्यसैगरी लुम्बिनी प्रदेशमा पनि चैते धान असारेभन्दा राम्रो उत्पादन क्षमता देखिन्छ । ३ हजार २ सय २० हेक्टरमा खेती हुने चैते धान उत्पादन १५ हजार ९ सय १२ टन भएको देखिन्छ ।
चैते धान उत्पादन क्षमता ४.९४ टन प्रतिहेक्टर छ भने असारे धान ३.९८ टन प्रतिहेक्टर छ । लुम्बिनीमा असारे धान २ लाख ९८ हजार ७ सय ७१ हेक्टरमा खेती हुँदा ११ लाख ३५ हजार ४ सय १ टन उत्पादन भएको थियो ।
कर्णाली प्रदेशमा पनि चैते धान असारेभन्दा राम्रो फलेको कृषि मन्त्रालयको तथ्यांक छ । कर्णालीमा १ सय ९१ हेक्टरमा मात्रै चैते धान खेती हुने गरेको छ भने ८ सय ५६ टन उत्पादन भएको देखिन्छ, जुन ४.९८ प्रतिशत हो ।
असारमा ३८ हजार ४ सय ३६ हेक्टरमा खेती हुँदा ३.५१ टन प्रतिहेक्टर अर्थात् १ लाख २८ हजार ६ सय १७ टन उत्पादन भएको देखिन्छ ।
यस्तै सुदूरपश्चिममा चैते धान सबैभन्दा राम्रो फल्ने गरेको छ । मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ५.०७ टन प्रतिहेक्टर उत्पादन भएको छ ।
गत आवमा सुदूरपश्चिममा १ हजार १ सय ९५ हेक्टरमा लगाएको चैते धान उत्पादन ६ हजार ५६ टन थियो । तर, असारे धान उत्पादन क्षमता भने चेतै धानभन्दा निकै कम देखिएको छ ।
१ लाख ६१ हजार ३ सय २५ हेक्टरमा लगाइएको असारे धान उत्पादन ५ लाख ८३ हजार १ सय ६५ टन अर्थात् प्रतिहेक्टर ३.६८ टन उत्पादन भएको देखिन्छ ।
बजेट खर्च गर्नै सक्दैन कृषि मन्त्रालय
उद्योग मन्त्रालयले भनेजस्तै कृषि मन्त्रालयले पनि चैते धान विस्तार गर्नुपर्ने बताउँदै आएको छ । तर, कृषि मन्त्रालयले चैते धानका लागि छुट्ट्याएको बजेट नै खर्च गर्न सकेको छैन ।
कृषि मन्त्रालयले चैते धान खेती विस्तार गर्न चालु आव ३० करोड रुपैयाँ विनियोजन गरे पनि उक्त रकम खर्च गर्न सकेको छैन ।
‘हामीले चैते धान खेती विस्तार, बीउ तथा विभिन्न काम गर्न छुट्ट्याइएको बजेटका कार्यक्रम विस्तृतीकरण गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाउँदा मन्त्रालयले स्वीकृति दिन ढिला गर्यो । चालु आवमा हामीले उक्त बजेट खर्च गर्न नसकेका हौं,’ मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले भनिन् ।
उनले चैते धान विस्तारका लागि कार्यक्रम र अध्ययन सबै भइसकेको भन्दै आगामी आवमा लागु गर्ने बताइन् । ‘फिल्डमै गएर किसान र खेतको अध्ययन पनि गरेका छौं । एक–डेढ लाख हेक्टर चैते धान खेती बढाउने मन्त्रालयको योजना छ, यो वर्ष सफल नभए पनि आगामी आवमा उक्त कार्यक्रम सञ्चालन गर्छौं,’ उनले भनिन् ।
शिवाकोटीले चैते धान उत्पादन क्षमता धेरै भए पनि मुख्य समस्या सिंचाइको रहेको बताइन् । ‘हाम्रो आकाशे पानीको भरमा रोपाइँ हुने भएकाले चैते धान विस्तार गर्न सिंचाइको आवश्यकता पर्छ,’ उनले भनिन्, ‘सिंचाइ र बीउमा सरकारले लगानी बढाउन सक्ने हो भने किसान आकर्षित हुन्छन् ।’
बढ्यो जनशक्ति, बढेन उत्पादन
असोज २०८० मा सार्वजनिक कृषि गणना तथ्यांक अनुसार पछिल्लो ३० वर्षमा धान खेतीमा लाग्ने जनशक्ति बढेको छ, तर उत्पादनमा भने खासै प्रगति देखिँदैन ।
गणना अनुसार २०४८ सालमा २० लाख ३७ हजार कृषक परिवार धान खेतीमा संलग्न थिए । २०५८ मा २४ लाख ६६ हजार, २०६८ मा २६ लाख ६९ हजार हुँदै हाल २७ लाख ६५ हजार किसान परिवार धान खेतीमा संलग्न छन् ।
तर, ३० वर्षअघि १४ लाख ८१ हजार हेक्टरमा भइरहेको धान खेती २०८० सालमा आइपुग्दा २ लाख ६५ हजार हेक्टरले घटेको छ । २०७८ मा १४ लाख ८१ हजार हेक्टरमा धान खेती भइरहेकोमा २०७८ को गणनामा १२ लाख १६ हजार ४ सय हेक्टरमा मात्रै धान खेती भइरहेको छ ।
साढे २ लाख हेक्टरले धान खेती हुने क्षेत्रफल घट्दा ७ लाख २७ हजार किसान भने धान खेतीमा बढेको देखिन्छ । नेपालमा धान उत्पादकत्व प्रतिहेक्टर ३.०९ टन छ । जबकि, हाम्रा छिमेकी भारत, चीन, बंगलादेश धान उत्पादनमा हामीभन्दा अब्बल छन् ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार चालु आव सरकारले कृषि विकासका लागि भनेर ५८ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये रासायनिक मल खरिदको रकम मात्रै ३० अर्ब रुपैयाँ छ ।
मन्त्रालयका अनुसार बाँकी २८ अर्ब ९५ करोडमध्ये पनि ९० प्रतिशत चालु खर्चमै सकिन्छ । कृषिमा हालसम्मकै उच्च बजेट पाउँदा पनि उल्लेख्य काम गर्न सकिने खालको बजेट नभएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4