+
+

संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १३:५७

२१ चैत, गुल्मी । संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । भवनहरू सेवाग्राहीमैत्री नहुँदा समस्या भएको अस्पताल प्रशासनले बताएको छ । अस्पतालबाट दैनिक करिब ४ सय बिरामीले सेवा लिइरहेका छन् ।

अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन छ । तर निर्माणको काम सुस्त हुँदा सेवा प्रवाहमा थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

नयाँ भवन ५ तल्लाको हुने गरी २५ करोड ९५ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको छ । १८ असार २०७८ मा सम्झौता भइ काम सुरू भएको भवन निर्माण १७ असार २०८० मा सम्पन्न हुनुपर्ने थियो । तर सम्झौता अवधिमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि १७ पुस २०८० सम्मको लागि सम्झौता नवीकरण गरिएको थियो ।

थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि अहिले सम्झौता विनै निर्माणको काम भइरहेको छ । भवन निर्माणको जिम्मा स्वच्छन्द बानियाँ जेभी हेटौंडाले लिएको छ । निर्माण अवधिको म्याद थपको लागि छलफल चलिरहेको अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले बताए ।

चैतको तेस्रो सातासम्म ६५ प्रतिशत भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको निर्माण कम्पनीका इन्जिनियर सागर दुलालले बताए ।

गुल्मी अस्पताल २०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो । तर भौतिक संरचनाको अभावमा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

नयाँ भवन तयार भएपछि अस्पतालमा आईसीयू, सर्जिकल, मेडिकल, बच्चालगायत कक्षका लागि छुट्टाछुट्टै व्यवस्था हुनेछ । अहिले गुल्मी अस्पतालबाट हाडजोर्नी, गाइनोकोलोजिस्ट, हेमो डायलायसिस लगायत सेवा प्रवाह भइरहेको छ ।

हाडजोर्नी, प्रसूतिलगायत सेवातर्फ अप्रेशनको समेत व्यवस्था छ । तर पुरानो र साँघुरो संरचनामा अप्रेशन गर्न र बिरामीलाई राख्नका लागि समस्या भइरहेको अस्पताल प्रशासनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?