+
+

विपद् प्राधिकरणमा थुप्रिए कर्मचारी, जगेडाकालाई सरुवाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १४:१६

२१ चैत, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिने क्रम बढेको छ । ३८ कर्मचारी रहेको प्राधिकरणमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

काठमाडौं छाड्न नचाहाने कर्मचारीले सिंहदरबारभित्र बस्न प्राधिकरणमा काज मिलाएर हाजिर गर्ने गरेका छन् ।

गृह मन्त्रालयले सिंहदरबारमा काम नगरी बस्न जगेडमा बस्न खोज्नेहरुले प्राधिकरणलाई केन्द्र नै बनाएपछि निरुत्साहित गर्ने तयारी सुरु गरिसकेको बताएको छ ।

स्रोतका अनुसार ४ जना शाखा अधिकृतको दरबन्दी रहेको प्राधिकरणमा ११ जना शाखा अधिकृत छन् । अहिले सरुवा गरेर दरबन्दीअनुसार नै शाखा अधिकृतहरुको व्यवस्थापन गर्न लागिएको प्राधिकरण स्रोतले बतायो ।

२ जना उपसचिवको दरबन्दी रहेको प्राधिकरणमा ८ जना उपसचिवहरु छन् । अहिले मन्त्रालयले ४ जना उपसचिव कायम राखेर अन्यको सरुवा गर्न तयारी गरेको छ । अझै पनि प्राधिकरणमा ३ जना सहसचिवहरु छन् । जबकी प्राधिकरणमा २ जना मात्रै सहसचिवको दरबन्दी छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारयाणप्रसाद भट्टराई विपदका बेला थप कर्मचारी ल्याएर काम गर्न सकिने व्यवस्था भएकाले प्राधिकरणमा जाजरकोट भूकम्पपछि कर्मचारी धेरै राखिएको बताए । अब दरबन्दीभन्दा बढी कर्मचारी राख्नु आवश्यक नदेखिएको उनले बताए ।

‘तर, अहिले कामको चाप नभएकाले सचिवज्यूले जगेडा कर्मचारी सबै अन्यत्र खटाउन निर्देशन दिनुभएको छ,’ उनले भने,‘४ जना उपसचिव राखेर दरबन्दीभन्दा बढी कर्मचारीहरु अन्यत्र खटाउने तयारी हुँदैछ ।’ फेरि कुनै विपद परेमा उद्धार, राहत, समन्वयजस्ता कामका लागि थप जनशक्ति ल्याउन सकिने प्रवक्ता भट्टराईले बताए ।

विभिन्न सेवाप्रदायक निकाय र जिल्लास्तरको कार्यालयमा कर्मचारी अभाव भइरहँदा काठमाडौं बस्न चाहने कर्मचरीहरुले प्राधिकरणलाई अड्डा बनाउने गरेका छन् । विपदको कारण देखाएर प्राधिकरणले दरबन्दीभन्दा बढी कर्मचारी राख्दै आएको छ ।

तर, प्राधिकरणमा कामको खासै चाप नभएको बुझेपछि मन्त्रालयले कर्मचारीलाई अन्यत्र खटाउन तयारी थालेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?