
२१ चैत, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलको सम्पत्ति छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले अमेरिकामा पनि सम्पत्ति जोडेको फेला पारेको छ ।
अख्तियार उच्च स्रोतका अनुसार पौडेलले पत्नी एलिना बस्नेतको नाममा साढे दुई वर्षअघि नै घर किनेको खुलेको हो । त्यस सम्बन्धी कागजात भेटेपछि अख्तियारले कानून मन्त्रालयमार्फत अमेरिकी सरकारी संयन्त्रसँग सम्पर्क गरी थप सूचना संकलन गरिरहेको छ ।
अमेरिकामा स्थायी आवासीय अनुमति (पीआर) पाए लगत्तै विकल पौडेलले न्युयोर्कमा घर किनेको खुलेको हो । सेप्टेम्बर २४, २०२१ (तदनुसार ८ असोज, २०७८) मा उनले ५ लाख १५ हजार अमेरिकी डलरमा आवास खरिद गरेका थिए । त्यो मितिको विनिमयदर (प्रतिडलर ११७ रुपैंया) अनुसार, उक्त घरको मूल्य करिब ६ करोड रुपैंया हुन आउछ ।
अमेरिकाको पीआर लिएको थाहा पाएपछि निलम्बनमा रहेका पौडेललाई सरकारले ६ फागुन, २०८० मा पदबाट बर्खास्त गरेको थियो । गत बैशाखमा भ्रष्टाचार मुद्दा दायर भएदेखि नै उनी निलम्बनमा परेका थिए ।
१० माघमा पक्राउ परेका विकल र सुनिल पौडेललाई पटक-पटक विशेष अदालतबाट म्याद थप गरेर अख्तियारले हिरासतमा राखेर अहिले पनि अनुसन्धान गरिरहेको छ ।
गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको छानबिनमा पक्राउ परेका पौडेलले विभिन्न व्यक्ति र सार्वजनिक पदमा रहेका व्यक्तिहरुसँग फोन र ह्वाटस्एपमा गरेको कुराकानीको विवरण फेला परेको छ । त्यो छानविनमा मुख्यसचिव बैकुण्ठ अर्यालदेखि अरु सार्वजनिक पदमा रहेका व्यक्तिहरुसँग गरेको कारोवारको कुराकानीको विवरण आयोगले संकलन गरेको छ ।
‘अहिले संवादमा भएका कुराकानीलाई विभिन्न कारोबारसँग भिडाउने र प्रमाण संकलन गर्ने काम भइरहेको छ’ अख्तियार स्रोतले भन्यो, ‘उनले सिंगापुर र दुबईमा गरेको कारोवार अझ बढी शंकास्पद र संवेदनशील छन् ।’
उनकै क्रियाकलापलाई संकेत गर्दै केही महिनाअघि अख्तियार प्रमुख प्रेम कुमार राईले राज्य व्यवस्था समितिको बैठकमा नेपालमा हुने भ्रष्टाचारको कारोवार र लेनदेन विदेशमा हुने गरेको भनी अभिव्यक्ति दिएका थिए ।
गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलद्वयलाई थुनामा राख्ने अवधि बढाउन विशेष अदालतमा पेश गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अनुसन्धानको प्रगति र बयानका वारेमा चासो राखेका थिए ।
जवाफमा अख्तियारका अनुसन्धान अधिकृतले विकल र सुनिलले अनुसन्धानमा सहयोग नगरेको र बयान पनि हुन नसकेको भनी जवाफ दिएका थिए । त्यसपछि विशेष अदालतले उनीहरुलाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सुरक्षण मुद्रण केन्द्र स्थापनाका नाममा अस्वभाविक खर्च गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले ४ बैशाख, २०८० मा कार्यकारी निर्देशक विकल पौडेल लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
साढे पाँच वर्षअघि काभ्रेको पनौतीस्थित सूचना प्रविधि (आईटी) पार्कमा सेक्यूरिटी प्रेस स्थापना गर्ने योजना बनेको थियो । २०७५ देखि दुई वर्षको अवधिमा विद्युत प्रशारण लाईन, ट्रान्सफर्मर जडान, भूमिगत इन्धन भण्डारण टंकी निर्माण भए । तिनै योजनामा करिव ६९ करोड रुपैंया भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा चलाएको हो ।
अख्तियारले नेपाल टेलिकमका प्रवन्ध निर्देशक रहेका सुनिल पौडेल लगायत ७ जनामाथि राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे–एनपीजी) स्थापनामा अनियमितता गरेको आरोपमा १५ असोज, २०८० मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । दुई फरक घटनामा मुछिएर निलम्बनमा परेका विकल र सुनिलमाथि अख्तियारले साढे २ महिनादेखि थुनामा राखेर अनुसन्धान अघि बढाएको हो ।
प्रतिक्रिया 4