+
+

भीमको साथ नपाएका अर्जुन

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत २५ गते १९:५७

२५ चैत, काठमाडौं । नेपाल ए ले आइतबार तेस्रो एक दिवसीय खेलमा आयरल्यान्ड ए विरुद्ध ब्याटिङमा अपेक्षा भन्दा फरक सुरुवात गरेको थियो ।

सुरुवाती दुई खेलमा क्रमशः १३६ र ६० रनमा अल आउट हुँदा नेपाल हार्न पुगेको थियो । आयरल्यान्ड १५७ र १७४ रन बनाउँदा पनि जित्न पर्याप्त बनेको थियो । तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ओपनर स्टेफन डोहनीको १०७ रनको शतकीय पारीको मद्दतमा २८४ रन बनायो ।

२८५ उनको लक्ष्य पछ्याएको नेपालका ओपनरद्धय अर्जुन कुमाल र अर्जुन साउदले पहिलो विकेटका लागि १२ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन आउट भए ।

नेपाली ब्याटिङको भविष्य मानिएका १८ वर्षीय अर्जुनले टेस्ट टोली आयरल्यान्डका सिनियर बलर फिओन ह्यान्ड र म्याथ्यु फस्टरको गतिमा सुरुवातमा लगातार रन बनाए । त्यसपछि म्याथ्यु हम्फ्रेज, जसले पहिलो खेलमा ५ र दोस्रोमा ६ विकेट लिएका थिए, उनको बल पनि खेले ।

१४ ओडीआई खेल खेलेका देव खनाल र अर्जुनबीचको साझेदारी जम्ने अनुमान गरिएको थियो । किनभने दुवैले पछिल्लो एक वर्षयता यू–१९ मासँगै खेल्दै आएका छन् ।

तर ५२ रनको मात्रै साझेदारी गरे । देव ११ रनमा म्याथ्यु फस्टरको बलमा बोल्ड आउट भए । त्यसपछि आएका नरेन भट्टले तेस्रो विकेटका लागि नरेनले ५१ रनको साझेदारी गरेपछि नेपालको जित सहज देखिएको थियो । नरेन बेन ह्वाइटको बलमा बोल्ड हुनुअघि नेपाल २८.३ ओभरमा १७१–२ को मजबुत अवस्थामा थियो ।

नरेन २१ बलमा १५ रन बनाउँदै आउट भए । तर दुई अनुभवी ब्याटर विनोद भण्डारी र भीम सार्की आउन बाँकी थियो । त्यसैले नेपालले जित हात पार्ने अनुमान थियो ।

ह्वाइटको ३१औं ओभरको तेस्रो बलमा छक्का हान्न खोजे पनि कप्तान बिनोन कमजोर सटमा लङअनमा ४ रनमा क्याच आउट भए । त्यसपछि भीम क्रिजमा आएका थिए ।

भीम नै अन्तिम आशाको रुपमा थिए । किनकि उनीपछि क्रिजमा आउने सबै बलर थिए । रुपेश सिंह, विकास आग्री र रञ्जितकुमार ओझा पहिलो पटक खेलेका थिए । भीम नेपालको ओडीआईका खम्बा हुन् । सिनियर टोलीले खराब सुरुवात गर्दा धरै पटक आफ्नो ब्याटबाट उद्दार गरेका थिए ।

साथ दिन चुकेका भीम

भीम क्रिजमा आउदा नेपाललाई ११७ बलमा जित्नलाई मात्रै १०४ रन आवश्यक थियो । अर्जुन ९५ रनमा ननस्ट्राइकमा थिए । भीम अन्तिम ब्याटर हुँदा अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्थ्यो ।

तर भीम पहिलो बलमै कट गर्न खोज्दा पिटर मुरबाट क्याच आउट भए । त्योसँगै नेपालको जितको सम्भावना कठिन बनेको थियो ।

अर्जुनले ३४ औं ओभरको पहिलो बलमा दुई रन जोड्दै शतक हाने । यसअघि उनले यू–१९ क्रिकेटमा दुई शतक साउदी अरेवियाविरुद्ध (१४३) र कुवेतविरुद्ध (१०८) रनको शतक हानेका थिए । सिनियर क्रिकेट अर्थात लिष्ट ए मा अर्जुनको पहिलो शतक थियो । उनी ११८ बलमा १४ चौकासहित १०२ रनमा आउट भए ।

गत जनवरीमा अर्जुन यू–१९ विश्वकपमा न्युुजिल्यान्डसँग ९० र डिसेम्बरमा यू १९ एसिया कपमा अफगानिस्तानसँग ९१ रनमा आउट भएका थिए । त्यसैले ९० खेलेपछि आउट हुने डर थियो । ‘९० मा एकदमै नर्भस भएको थिएँ । आफैंलाई ब्याक गरेँ, हरेक बल फोकस भएर खेले’ अर्जुनले शतकपछि भने, मेरो जुन क्षमता छ, त्यसै अनुसार खेलेँ । एकदमै खुसी छु ।’

पहिलो खेलमा ९ रनमा आउट भएका उनलाई दोस्रो खेलमा बेन्चमा राखिएको थियो । त्यसेले पनि उनी शतक बनाएपछि पनि खेललाई अन्तिम समयसम्म लैजान चाहन्थे । ‘आएका सबै ब्याटरलाई मैले विकेटबारे सम्झाई राखेको थिएँ’ उनले भने, ‘अन्तिम सम्म लगेर जाउ भन्ने योजना थियो ।’

तर अर्जुन स्पिनर बेन ह्वाइटको ३५औं ओभरको चौथो बलमा अघि बढेर खेल्न खोज्दा स्टम्पिङ आउट भए । उनी आउट हुँदा टिमको स्कोर २०४/६ थियो ।

थप ११ रन जोड्दा नेपाल अलआउट भयो । प्रशिक्षक कलाम अली विनोद र भीमको विकेट नै खेलको टर्निङ प्वाइन्ट मान्छन् । ‘भीम र विनोद जतिबेला ब्याटिङमा गएका थिए, त्यो बेला हामीलाई राम्रो पार्टनरसिप चाहिएको थियो’ खेलपछि उनले भने, ‘उनीहरुको दुई विकेट गएपछि दबावमा आयौं ।’

महत्वपूर्ण समयमा अर्जुनलाई साथ दिन नसकेका भीम पनि आफ्नो प्रदर्शनबाट निराश छन् । ‘एउटा सिनियर खेलाडीको रुपमा एकदमै निराशजनक रह्यो’ खेलपछि भीमले भने, ‘दुई खेलमा पहिलो बलमै आउट भएँ । एउटामा सुरुवात पाएर पनि ठूलो इनिङ खेल्न सकेन । एकदमै निराश छु ।’

भीम तीन खेलमा ०, १७ र ० मा आउट भएका थिए । भीम आज छैटौं नम्बरमा आएर खेलेका थिए । पहिलोमा दोस्रो र दोस्रोमा चौथो नम्बरमा आएर खेलेका थिए । सिनियर टोलीमा भीम प्राय तेस्रो नम्बरमा खेल्छन् । ब्याटिङक्रम परिवर्तनले प्रदर्शन नभएको अस्वीकार गर्दै आफूले खेल्न नसकेको बताए ।

‘हामीलाई एक बलमा एक रन चाहिएको थिएन । त्यहाँबाट एक जनाले ३०/४० रनको साझेदारी गर्दा पनि जित्थ्यौं’ उनले भने, ‘ बलिङ र फिल्डिङ हाम्रो एकदमै राम्रो भयो । ब्याटिङमा साझेदारी भएन । सिनियर कसैको पनि भएन । सायद खराब समय भन्नुपर्ला ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?