+
+

यथार्थपरक बजेट बनाउन चेम्बरको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १८:०५
फाइल तस्वीर

२७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट यथार्थपरक बनाउन माग गरेको छ ।

संस्थाको ७३औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले यस्तो बताएका हुन् । मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी बजेट वस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने समेत बताए । ‘बजेट सधैं महत्त्वाकांक्षी र ठूलो आकारको बनाउने तर स्रोत अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्थपरक एवम् घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्छ,’ उनले भने ।

आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य वृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले करको दर नभई दायरा विस्तार गरी नागरिकतासँगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने बताए ।

अर्थतन्त्रको वाह्य सूचकमा सुधारका केही संकेत देखिए पनि आन्तरिकतर्फ सुस्तता कायमै रहेको मल्लले बताए । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्ष पनि व्यापार घाटा उच्च हुने देखिएको उनको भनाइ छ ।

पूँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पूरा हुनेमा चुनौती रहेको मल्लले बताए । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले उल्लेख गरे ।

तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सूचना प्रविधि क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने उनको भनाइ छ ।

चेम्बरको ७३औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताए ।

आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेको उनले बताए । पूँजी निर्माण, पूँजीगत खर्चमा सुधार एवम् व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?