+
+

धरौटीमा रिहा भएका पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ फरार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १९:११

२७ चैत, काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङ फरार भएका छन् । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका गुरुङ अहिले फरार भएका हुन् ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुनमा समेत संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अहिलेसम्म गुरुङलाई फेला पार्न सकेको छैन ।

२१ मंसिरमा फ्लाई दुबईको एयरमार्फत १४ किलो सुन लिएर आउँदै गर्दा गोरखाका चन्द्र घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । उक्त १४ किलो सुन तस्करीमा गुरुङको संलग्नता देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले घलेलाई १४ फागुनमा पक्राउ गरेको थियो ।

गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए ।

१४ किलो सुनमा रिहा भए पनि गुरुङको संलग्नता ६० किलो भन्दा बढीमा समेत संलग्नता खुलेको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीका नाइके दावाजिन वाङले चढेको गाडी नै गुरुङको नाममा रहेको खुलेको थियो ।

दावाजिनले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई गाडी सहयोग गर्न भनेको र त्यसपछि महराले प्लाटिनम कलेजका अध्यक्षलाई दावाजिनलाई सहयोग गर्न भनेका थिए । दावाजिनले रकम दिएपछि गुरुङले आफ्नो नाममा गाडी किनेर दावाजिनलाई दिएको खुलेको थियो ।

उक्त गाडीमार्फत नै दावाजिनले अवैध सुन ओसारपसार र कारोबार गरेको देखिएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । गुरुङकै नाममा गाडी खरिद गरेर सुन तस्करीमा प्रयोग गरेको पाइएपछि सीआईबीले ६० किलो सुन तस्करीमा पनि गुरुङमाथि अनुसन्धान अघि बढाएको छ ।

तर ५ चैतमा १५ लाख धरौटीमा रिहा भएका गुरुङ भने अहिले फरार भएको सीआईबी स्रोतले अनलाइनखबरलाई जानकारी दियो । ‘६० किलो सुन तस्करीमा गाडीको बन्दोबस्त गुरुङ गरेको देखिएको र महरासँग समेत सम्बन्ध रहेको पाइएपछि हामीले अनुसन्धान अघि बढाएको छौं । तर अहिले गुरुङ मोबाइल स्वीचअफ गरेर फरार भएका छन्’ सीआईबीका एक अधिकारीले भने ।

यसअघि भन्सार विभागले चलाएको १४ किलो सुन तस्करी प्रकरणका उनी मुख्य योजनाकार रहेको दाबी गरिएको थियो । गुरुङले नै मीन घले र चन्द्र घलेलाई परिचालन गरेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?