
२७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सुमेरु बचत तथा ऋण सहकारी संस्था कालिमाटीमा स्थलगत अनुगमन गरेको छ ।
मंगलबार अनुगमनमा गएको महानगर टोलीले सहकारी संस्थाको पैसा राख्ने भल्टमा कागजपत्र फेला पारेको स्रोतले जनाएको छ ।
‘संस्थाको भल्टमा महत्त्वपूर्ण कागजपत्र फेला पर्यो, त्यसको फोटोकपी गरेर ल्याएका छौं,’ महानगर स्रोतले भन्यो, ‘महानगरको अनुगमन टोलीले बुधबार पनि सोही संस्थामा अनुगमनलाई निरन्तरता दिन्छ । अनुगमनमा फेला परेको विवरणको विश्लेषणपछि वास्तविक अवस्था बाहिर ल्याउँछौं ।’
संस्थाको करिब ३ अर्बको बचत दायित्व रहेको देखिएको स्रोतले जनाएको छ । जसमध्ये करिब ८/९ करोड मात्रै कर्जा लगानी गरेको देखिएको छ ।
संस्थाले संकलन गरेको अन्य निक्षेप भने पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थामा ‘ट्रान्सफर’ भएको देखिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
सहकारी संस्थाको नाममा रजिस्ट्रेसन पास हुनुपर्ने जग्गा संस्था व्यवस्थापकले आफ्नो नाममा गरेको देखिएको स्रोतले बतायो ।
भरत महर्जनले नै पुल्चोक र कालीमाटीमा गरेर सुमेरु बचत तथा ऋण सहकारी संस्थाको नाममा दुइटा सहकारी संस्था सञ्चालन गर्दै आएका थिए । पुल्चोकको सहकारी संस्थाको भक्तपुर गठ्ठाघर र ललितपुरकै धापाखेलमा शाखा कार्यालय थियो ।
सुमेरु बचत तथा ऋण सहकारी कालीमाटीको अध्यक्षमा भरत महर्जनकी श्रीमती राजमाया महर्जन छिन् । अहिले भरत परिवार सहित बेलायत भागेका छन् । संस्थाको व्यवस्थापकमा भरत महर्जनकै आफन्त स्वच्छन्द मानन्धर छन् ।
महानगरले सहकारी कार्यलयबाट महत्त्वपूर्ण कागजातसँगै स्वच्छन्द मानन्धरको नाममा रजिस्ट्रेसन भएको जग्गाधनी पुर्जाको प्रतिलिपि समेत ल्याएको छ ।
महानगर अनुगमनमा ३ अर्बमध्ये अधिकांश रकम पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्थामा लगेको देखिए पनि पुल्चोकको संस्था सञ्चालक समितिका पदाधिकारी भने करिब ३० करोड मात्रै रहेको दाबी गर्छन् ।
उक्त तथ्यांक सहकारी विभागमा समेत पेस भएको स्रोतले जनाएको छ । अन्य स्रोत भरतले कसरी दुरुपयोग गरे भन्ने विषय पुल्चोकको संस्थासँग सरोकार नभएको संस्थाका एक पदाधिकारीले बताए ।
कालीमाटीमा श्रीमती र आफन्तलाई सञ्चालक बनाउँदै आएका भरत पुल्चोकमा भने २१ वर्षसम्म आफैं अध्यक्ष थिए । त्यसपछि संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर सञ्चालक समितिमा अन्य आफन्त ल्याएका थिए ।
काठमाडौं महानगरले चालु आव ४० सहकारी संस्थाको सघन अनुगमन गर्ने निर्णय गरेको थियो । यसअघि साई स्वागत बचत तथा ऋण सहकारी संस्था सहित तीनको अनुगमन गरिसकेको छ । आठ संस्था अनुगमन सकेपछि विभागले प्रतिवेदन तयार बनाउने स्रोतले जनाएको छ ।
महानगरले ८२ सूचकमा आधारित भएर विज्ञसहित टोली गठन गरी अनुगमन गरिरहेको छ । तीन जना चार्टर्ड एकाउन्टेन्ट्स (सीए) को टोली नै नियुक्त गरे महानगरले सहकारीको सघन अनुगमन सुरु गरेको हो ।
महानगरको सहकारी विभाग प्रमुखको संयोजकत्वमा उक्त अनुगमन भइरहेको छ । अनुगमनमा महानगर प्रहरी, सहकारी संघसंस्था, वडा कार्यालय र महानगरकै सहरी योजना शाखाका प्रतिनिधि संलग्न हुन्छन् ।
प्रतिक्रिया 4