+
+

देशभर नै तुवाँलो, प्रदूषण कायमै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते ८:२१

३० चैत, काठमाडौं । अहिले देशभर नै तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले नेपालको वायु अझै स्वच्छ छैन भनेर बुझ्नुपर्ने मौसमविद बताउँछन् ।

बिहीबार गण्डकी, बागमती र कोशी प्रदेशमा हावाहुरीसहित वर्षा भएको थियो । त्यो वर्षाले प्रदूषण केही कम भने गरेको थियो ।

‘धेरै स्थानमा अहिले पनि डढेलो लागिरहेको छ, हावामा धुवाँ, धुलो कायमै छ । त्यसैले देशभर नै तुवाँलो देखिएको छ,’ महाशाखाका मौसमविद रोजन लामिछानेले अनलाइनखबरसँग भने । हिजोको पानीले प्रदूषण केही मात्रामा घटेको जस्तो देखिए पनि वासआउट भने गरेन ।’

अघिल्ला दिनहरुमा नेपालमा प्रदूषणको स्तर ह्वात्तै बढेर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको थियो । विश्वभरको वायु प्रदूषणको स्तर मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायू गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो ।

बिहीबार साँझ पानी परेपछि केही मात्रामा प्रदूषण घटे पनि शुक्रबार बिहान एक्यूआई १७३ सम्म पुगेको छ । यो भनेको अहिले पनि नेपालको वायु प्रदूषण जोखिमको स्तरमा छ भन्ने हो । त्यसैले वायु प्रदूषणको हिसाबले नेपाल शुक्रबार बिहानसम्म भारत र चीनपछि तेस्रो स्थानमा छ ।

आज पनि पानी पर्ने सम्भावना

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव छ । त्यही प्रभावका कारण हिजो गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा पानी परेको थियो । तर तराई मधेशका जिल्लाहरूमा खासै पानी नपरेकाले डढेलो निभ्न भने सकेन ।

देशभर डढेलोको अवस्था

आज पनि कोशी, बागमती, गण्डकी पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद लामिछानेले जानकारी दिए । उनका अनुसार पूर्वी तराई (मधेश र कोशी प्रदेश)मा साँझ हावाहुरीसहित मेघगर्जन सहित हल्का वर्षाको पनि सम्भावना छ ।

काठमाडौं उपत्यकामा पनि हिजोको जस्तै अपराह्न पानी पर्ने सम्भावना रहेको लामिछानेले बताए । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?