+

‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम   

२०८१ वैशाख  १ गते १७:४२ २०८१ वैशाख १ गते १७:४२
‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम   

१ वैशाख, सुदूरपश्चिम । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का अवसरमा कैलालीको धनगढीमा शनिबार आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् ।

धनगढी जेसीजद्वारा आयोजित २१ किलोमिटर दूरीको उक्त हाफ म्याराथन मुकेशले एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरे । जितसँगै नेपाली सेनामा कार्यरत उनले ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै दुर्गाबहादुर बुढाले एक घण्टा आठ मिनेट १२ दशमलव ७७ मिनेटमा उक्त दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरे । उनले ४४ हजार ४४४ पुरस्कार पाए । एक घण्टा आठ मिनेट ४९ दशमलव ८६ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो स्थान प्राप्त गर्ने नरेन्द्रसिंह रावतलाई ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरियो । हाफ म्याराथनमा उल्लेख्य सङ्ख्यामा खेलाडी सहभागिता थियो ।

धनगढी रङ्गशालाबाट सुरु भएको हाफ म्याराथन शहीद गेट हुँदै गेटा मेडिकल कलेज पुगेर पुनः रङ्गशाला फर्किएर समापन भएको थियो ।

यस्तै, पुरुष पाँच किलोमिटर दौडतर्फ कवीर कामी प्रथम, विकास बोहरा दोस्रो र विकास सिंह तेस्रो भए । पाँच किलोमिटरकै महिला दौडमा कमला बडुवाल पहिलो, बागेश्वरी धामी दोस्रो र तुलसी रावत तेस्रो भए । दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः ६ हजार ६६६, चार हजार चार सय ४४ र तीन हजार ३३३ पुरस्कार प्रदान गरिएको धनगढी जेसिजका हरि जोशीले बताए ।

धनगढी जेसिजले एक दशकदेखि नयाँ वर्षको पहिलो दिन ‘धनगढी दौडिन्छ’ नाराका साथ हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ । धनगढीको समग्र विकासमा टेवा पुर्‍याउन यस्तो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

आजको प्रतियोगिताको प्रवद्र्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकालगायत थिए ।

म्याराथन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय