
५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वेदको रचना नेपालीका पुर्खाहरुले कोशी र गण्डकी नदीका किनारमा बसेर रचना गरेका बताएका छन् । बुधबार इलाममा आयोजित नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हाम्रो मुन्धुम विदेशबाट बोकेर ल्याएको चिज होइन । हाम्रो पुर्खाले यहाँ रचना र विकास गरेको हो । त्यसै गरेर वेद पनि हाम्रा पुर्खाहरुले कोशी र गण्डकी नदीका किनारमा बसेर रचना गरेका थिए । हाम्रा पुर्खाले गरेका हुन्’, ओलीले भने ।
उनले आफ्ना रचना र प्रगतीप्रति गर्व गर्न सक्नुपर्ने बताए । कसैले पनि अरु धर्मप्रति हेला, अनास्था घृणा फैलान नहुने भन्दै उनले नेपाल एउटा बहुभाषिक, बहुजातीय र बहु सांस्कृतिक देश भएको बताए ।
अहिले संघीयताका थुप्रै पण्डितहरु देखिए पनि संविधानमा संघीयता नेकपा एमालेले लेखेको भन्दै उनले आफूले सुनाएको कुरा सिकाउन खोजिएको बताए । ‘किरात धर्म गुरु फाल्गुनन्दालाई नेपालको राष्ट्रिय विभुति, भनेर स्थान नेकपा एमालेले दिएको होइन ?’, उनले प्रश्न गरे, ‘अहिले आएर संस्कृतिका बारेमा एमालेलाई पढाउने ?’
उनले सामाजिक सद्भाव र समानता कायम गरेर त्यसको आधारमा सामाजिक एकता, राष्ट्रिय एकता बनाउनु पर्ने बताए ।
उनले अब इलामको विकास सुहान नेम्वाङले गर्ने भन्दै नेकपा एमालेले अघि सारे पनि धेरै पार्टीहरुको साझा उम्मेदवार भएको बताए ।
प्रतिक्रिया 4