
काठमाडौं । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
गत ९ र १० चैतमा लुम्बिनीमा आयोजना भएको सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साल लगायत नेपालका कार्यरत सबै अवैतनिक वाणिज्यदूतहरूले हस्ताक्षर गरेका छन् ।
लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्यदूतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयका समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तराष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आह्वान गरेकोछ । मानवीय शान्ति, विकास तथा सामूहिकताका लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको ठहर छ ।
हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवर्द्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे ।
उनले सम्मेललनले विश्व शान्ति, नेपालमा लगानी प्रवद्र्धन तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा बोल्दै एचसीसीएनका डिन विष्णु अग्रवालले विश्व शान्तिको सन्देश दिन सम्मेलन सफल भएको बताए । उनले सहभागी कुटनीतिक प्रतिनिधिले सम्मेलन आयोजनाको समय र सन्देश दुवै सान्दर्भिक रहेको बताए ।
लुम्बिनी कन्क्लेभको अन्तमा जारी गरिएको सो सन्देशमा विश्वभाइचारा, सदभाव र समृद्धिका लागि लुम्बिनीको विशेष महत्व रहेको उल्लेख गरिएको छ । विद्यमान विश्वमा रहेको अशान्ती, अन्यौल तथा द्वन्द्वलाई अन्त गर्न विश्व समुदायले आफ्नो प्रयासलाई सशक्त पार्न सम्मेलनले आव्हान गरेको छ ।
बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गर्ने विश्वास एचसीसीएनले लिएको छ ।
सम्मेलनमा ग्रिस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानिया लगायत १९ वटा मुलुकका गैरआवासीय राजदूत सहभागी थिए । सम्मेलनमा सहभागी कैयन देशका कुटनीतिक प्रतिनिधिहरूले नेपाल पहिलो पटक भ्रमण गरेका थिए ।
यसैगरी, उक्त सम्मेलनमा नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदुतहरू, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटनको उच्च अधिकारी लगायत उपस्थिति थिए ।
सम्मेलनका क्रममा लगानी बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको विजनेस सेसनमा सहभागीलाई नेपालमा लगानी तथा पर्यटनका अवसर तथा छिटै आयोजना हुन लागेको नेपाल लगानी सम्मेलनका बारेमा जानकारी गराइएको थियो ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4