+
+

कतारी राजालाई हात्ती उपहार दिने योजना के हो ?

अच्युत पुरी अच्युत पुरी
२०८१ वैशाख १० गते १८:०५
Photo Credit : RSS

१० वैशाख, काठमाडौं । कतारी राजा (अमिर) तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सिलसिलामा नेपालले हात्ती उपहार दिन गरेको तयारी तत्कालका लागि कार्यान्वयन नहुने देखिएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण क्रममा २०७५ सालमै नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । यो प्रतिबद्धता राजा अल थानीको भ्रमणका बेला कार्यान्वयन गर्ने सरकारको तयारी थियो ।

तर, कतारकै तर्फबाट आवश्यक तयारी पूरा हुन नसक्दा राजाको भ्रमणकै सिलसिलामा तत्काल हात्ती दिने सरकारको योजना कार्यान्वयनमा भने नआउने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले जानकारी दिए ।

कतारले ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि’ (साइटिस) प्रावधानअनुसार स्वीकृति लिइनसकेका कारण यसपालि पनि हात्ती उपहार दिने गरी निर्णय कार्यान्वयन नहुने भएको ढुंगानाले जानकारी दिए ।

‘हात्ती छनोट पनि भएको हो, द्विपक्षीय सम्झौताको पनि तयारी थियो, तर कतारका तर्फबाट लिनुपर्ने अप्रुभल (अनुमति) प्राप्त भइनसकेका कारण यसपालि सम्झौता नहुने भएको हो,’ प्रवक्ता ढुंगानाले अनलाइनखबरसँग भने ।

यद्दपि, सम्मानका लागि यो विषय परराष्ट्र मन्त्रालयको प्रेस नोटमा समेटेर पछि अर्को कुनै कार्यक्रम आयोजना गरी द्विपक्षीय सम्झौता र हात्ती हस्तान्तरण हुन सक्ने उनले बताए ।

‘हामीले हात्ती, ती हात्तीलाई पालन–पोषण गरिरहेका माहुतेसहित छनोट गरी हाम्रो तयारी पूरा गरेका थियौं,’ उनले भने, ‘तर, महासन्धिअनुसार कतारको तयारी पूरा हुन सकेन ।’

सरकारले एक पोथी र एक भाले हात्ती उपहारका रूपमा कतार सरकारलाई हस्तान्तरणको योजना बनाएको थियो । रुद्रकली र खगेन्द्र प्रसाद नामका दुई हात्ती कतार सरकारलाई दिने गरी छनोट समेत गरिएको छ ।

प्रवक्ता ढुंगानाका अनुसार हात्तीसँगै नेपालबाट उनीहरूका सुसारेसमेत पठाइने छ । उनीहरूले कतारका कर्मचारीलाई केही समय हात्तीको सुसार कसरी गर्ने भन्नेबारे सिकाउने छन् । त्यसपछि नेपालबाट गएका माहुतेहरू नेपाल आउनेछन् ।

यसअघि नेपालको प्राविधिक टोलीले कतार पुगेर हात्तीको बासस्थान समेत अवलोकन–अध्ययन गरिसकेको छ । कतारलाई दिन लागिएका यी हात्ती ५ वर्ष उमेरहाराहारीका हुन् । दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएका हुन् ।

उता, परराष्ट्र मन्त्रालय स्रोतले भने हात्ती उपहार दिनेबारे सम्झौता हुने जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारीले नेपालले कतारलाई हात्ती उपहार दिनेबारे सम्झौताको तयारी रहेको बताए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?