+

छोटो दौडमा कीर्तिमान बनाउने आदेशको लक्ष्य

२०८१ वैशाख  ११ गते १९:४८ २०८१ वैशाख ११ गते १९:४८
छोटो दौडमा कीर्तिमान बनाउने आदेशको लक्ष्य

११ वैशाख, काठमाडौं । एथ्लेटिक्समा छोटो दूरीको दौड (स्प्रिन्ट) को खुबै चर्चा हुन्छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ओलम्पिकमा एथ्लेटिक्सको १०० मिटर दौड मुख्य विधा मानिन्छ र यसको रोमाञ्चकता पनि छुट्टै हुन्छ ।

नेपालमा भने स्प्रिन्टको खासै चर्चा हुँदैन । सन् १९९९ मा काठमाडौंमा भएको आठौं साउथ एसियन गेम्समा रामकृष्ण चौधरीले १०:७१ सेकेण्डको दौड पूरा गरेर १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनको यो कीर्तिमान कसैले तोड्न सकेको छैन ।

तिलकराम थारुले सन् २०११ मा १०.५ सेकेण्डको टाइमिङ निकाले पनि त्यो ह्याण्ड टाइमको कीर्तिमान मात्र मानियो ।

गत हप्ता काठमाडौंमा भएको १४औं राष्ट्रपति रनिङ शिल्डमा स्प्रिन्ट विधाको १०० र २०० मिटर दुवै इभेन्टमा स्वर्ण जितेका रौतहटका आदेशकुमार यादवले भने रामकृष्णको कीर्तिमान तोड्ने लक्ष्य राखेका छन् । ‘एक दिन नेपालकै फास्टेस्ट स्प्रिन्टर बन्ने लक्ष्य छ’, आदेश भन्छन् ।

जुनियरस्तरको राष्ट्रिय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डमा १७ वर्षीय आदेशले १०० मिटरको दूरी ११:२० सेकेण्डमा र २०० मिटर दूरी २२.८ सेकेण्डमा पूरा गरे ।

‘एकदमै खुशी छु । दोस्रो प्रयासमा दुवै इभेन्टमा स्वर्ण जित्न सफल भएँ’, आदेशले अनलाइखबरसँग भने ।

यसअघि १३औं संस्करणको राष्ट्रपति रनिङ शिल्डमा आदेशले १०० मिटर दौड ११.४ र २०० मिटर दौड २३.२ सेकेण्डमा पूरा गरेका थिए । त्यतिबेला उनले १०० मिटर दौडमा रजत र २०० मिटर दौडमा कांस्य पदक जितेका थिए ।

१४ औं राष्ट्रपति रनिङ शिल्डमा दौडन काठमाडौं आउनुअघि आदेशले भरतपुरमा भएको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा पनि दुवै विधामा स्वर्ण जित्दै एथ्लेटिक्सतर्फ उत्कृष्ट खेलाडी बनेका थिए ।

‘यस पटक राम्रो भयो । पहिले भन्दा टाइमिङ पनि सुधार भइरहेको छ । ट्रेनिङ पनि राम्रो भएको थियो’, आदेश भन्छन् ।

रौतहट कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश वीरगञ्जमा बस्छन् र त्यहीँ पढ्छन् । उनले एथ्लेटिक्सको प्रशिक्षण पनि वीरगञ्जमै गर्छन् ।

खेलकुदमा रुची राख्ने उनी जुनसुकै खेल खेल्न पनि अघि सर्थे । ‘मैले सुरुमा बास्केटबल र खोखो पनि खेलेँ । खोखोबाट आठौं राष्ट्रिय खेलकुद कांस्य पदक समेत जितेँ’, आदेशले भने, ‘पछि मात्र एथ्लेटिक्स खेल्न थालेको हुँ।’

तर जब उनले एथ्लेटिक्समा मौका पाए त्यसपछि भने अरु खेल छाडेर यसैमा लागे । ‘पहिलादेखि एथ्लेटिक्स खेल्ने चाहना थियो, जब मौका पाएँ त्यसपछि एथ्लेटिक्समै लागेँ । त्यसपछि भने यही खेल रोजेँ’, उनले भने ।

उनले एथ्लेटिक्समा लाग्न प्रेरणा पूर्वखेलाडी चन्द्रेश्वर पटेलबाट पाएका हुन् । ‘चन्द्रेश्वर पटेललाई देखेपछि म पनि दौडन थालेँ उहाँसँग भेटेर कुरा पनि भयो’, आदेशले भने ।

हाल आदेशले श्री नारायणसँग प्रशिक्षण लिइरहेका छन् । ‘उहाँले एथ्लेटिक्स खेल्न चाहनेहरुलाई फ्री मै कोचिङ गराउनुहुन्छ’, उनी भन्छन् ।

आदेश संयुक्त अरब इमिरेट्स (युएई) मा अप्रिल २४ देखि हुने एसियन यू-२० एथ्लेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाँदैछन् । त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिँदैछन् । ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवै इभेन्टमा राम्रो गर्ने र जुनियरमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ’, उनले भने ।

यस बाहेक उनले भविष्यमा स्प्रिन्टतर्फ सिनियरको राष्ट्रिय कीर्तिमान बनाउने पनि लक्ष्य राखेका छन् ।

१०० मिटर दौडमा एसिया प्रथमको कीर्तिमान चिनियाँ खेलाडी सु बिङ्टियनको नाममा छ । उनले २०२१ मा ९:८३ सेकेण्डमा दौड पूरा गरेका थिए । यस्तै विश्व कीर्तिमान भने जमैकन धावक वुसेन बोल्टको नाममा छ । बोल्टले बनाएको ९:५८ सेकेण्डको कीर्तिमान हालसम्म कसैले तोड्न सकेको छैन ।

आदेशलाई मन पर्ने खेलाडी बोल्ट नै हुन् । ‘मलाई बोल्टको हार्ड वर्क मन पर्छ । ट्रेनिङमा शतप्रतिशत दिनुपर्छ र म पनि त्यसै गर्छु’,उनले भने ।

छोटो भए पनि १०० मिटर दौड निकै कठिन मानिन्छ । हिजोआज आदेशले दैनिक ४-५ घण्टा अभ्यास गर्छन् । ‘दैनिक ४-५ घण्टा ट्रेनिङ गर्छु’, आदेशले भने, ‘दैनिक ४-५ लिटर पानी खानुपर्छ नभए नशामा समस्या आउन सक्छ ।’

यो दौडमा अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा रहेको उनी बताउँछन् ।

अहिलेसम्म आदेशसँग कुनै प्रायोजक छैन, खेल सामग्री र पर्याप्त पौष्टिक आहार खान सक्ने अवस्था पनि छैन । यी सुविधा पाए अझ राम्रो प्रशिक्षण गरेर प्रदर्शन सुधार्न सकिने उनी बताउँछन् । ‘राम्रो सुविधा पाएमा नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय मेडल ल्याउन सक्छन् ।’

आदेशले खेललाई आफ्नो करिअर भन्दा पनि रुचीका रुपमा मात्र हेरेका छन् । उनको चाहना त भविष्यमा प्रहरी इन्सपेक्टर बन्ने हो ।

‘खेल मेरो प्यासन हो । मेरो लक्ष्य इन्सपेक्टर बन्ने हो । रमेश खरेल मेरो आइडल हो र उहाँ जस्तै बन्न मन छ’, उनले भने ।

आदेशकुमार यादव एथ्लेटिक्स दौड
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय