
११ वैशाख, सुर्खेत । भाषा र साहित्यका अध्येताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन् ।
नेपाली भाषाको उद्गमस्थल सिञ्जा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निष्कर्ष छ ।
मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहसमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मूल थलो कर्णाली भएको बताएका हुन् ।
‘नेपालमा अहिले बोलिने भाषाको मुल थलो खस सभ्यता कर्णाली हो, खस भाषा नै मातृभाषा हो’, भाषा विज्ञ डा. प्रेम चौलागाईंले भने ।
उनले खस भाषाको उचित संरक्षण हुन नसकेको बताए । भाषा र संस्कृति दिएको सभ्यतालाई संरक्षणमा चासो नदिइएको उनले औंल्याए । उनले कर्णाली सभ्यताको इतिहास लेख्नुपर्ने पनि बताए ।
डा. महेन्द्रकुमार मल्लले कर्णाली आधुनिक साहित्यको पनि पृष्ठभूमिका रुपमा रहेको बताए । ‘खस भाषा नेपाली भाषा हो, खसबाट विकसित भएको नेपाली रुप हो,’ उनले भने, ‘कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको बारेमा योगी नरहरिनाथलाई जति जानकारी अरुलाई छैन ।’
शिक्षाका बारेमा बोल्दै डा. मल्लले पछिल्लो राजनीतिक परिवर्तनपछि विद्यालय शिक्षामा सुधार ल्याउने कुरा योजनामै सिमित भएको बताए । शिक्षामा बालबालिको पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने सरकारका योजना पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनले बताए ।
उनले कर्णालीका बारेमा लेख्नुपर्ने धेरै विषय भएपनि लेखनमा सक्रियता नहुँदा ओझेलमा परेको बताए ।
सत्रका अर्का वक्ता कर्णालीको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सिकाइ उपलब्धी ६० प्रतिशतभन्दा माथी जान नसकेको बताइन् । उनका अनुसार कर्णालीमा ७୵८ प्रतिशत बालबालिकालाई शिक्षको पहुँचमा अहिले पनि ल्याउन सकिएको छैन ।
‘अहिले पनि सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै छ, कर्णालीको सिकाइ स्तर वृद्धि गर्न र पठन संस्कृतिको विकास गर्न पहिलो कुरा बालबालिकालाई पहुँचमा ल्याउने कामबाट सुरु गर्नुपर्छ’, उनले भनिन्, यहाँको शिक्षाको गुणस्तरमा पनि सुधार गर्नुछ, विद्यालयप्रति बढ्दो वितृष्णा कम गर्नुछ ।’
प्रतिक्रिया 4