+
+

गार्डेन अफ ड्रिम्समा क्याफे चलाउने द्वारिकाजलाई ९५ लाख भाडा तिर्न ५ दिन म्याद

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १४:५५

१२ वैशाख, काठमाडौं । काठमाडौंको केशरमहलस्थित स्वप्न बगैंचा (गार्डेन अफ ड्रिम्स) मा क्याफे सञ्चालन गर्ने व्यवसायीबाट भाडावापत सरकारले झण्डै एक करोड रुपैयाँ लिन बाँकी रहेको खुलेको छ ।

क्याफे सञ्चालन गर्ने द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिले ९५ लाख ५९ हजार २९३ रुपैयाँ भाडा नबुझाएको भन्दै गार्डेन अफ ड्रिम्स विकास समितिले मंगलबार एक सूचना जारी गरेको छ । उक्त सूचनामा क्याफे सञ्चालक द्वारिकाजलाई ५ दिनभित्र रकम तिर्न म्याद दिइएको छ ।

स्वप्न बगैैंचामा क्याफे चलाउन समिति र द द्वारिकाज हिमालय सांग्रिला भिलेज रिसोर्ट प्रालिबीच २२ माघ ०७२ मा ५ वर्षसम्मका लागि सम्झौता भएको थियो । समितिका एक कर्मचारीका अनुसार द द्वारिकाजले समितिसँग मासिक ११ लाख रुपैयाँ बुझाउने गरी सम्झौता भएको थियो ।

सम्झौताको अवधि ०७७ सालमै सकिएको छ भने त्यहाँ क्याफे चलाउन अर्को कम्पनीले ठेक्का पाइसकेको छ ।

ती कर्मचारीका अनुसार द्वारिकाजले १० महिनाको भाडा बुझाउन बाँकी छ । ‘बक्यौता भाडा नै करोड नाघिसकेको थियो । अरु बक्यौता बैंक ग्यारेन्टीबाट हामीले तानिसकेका छौं । त्यति गर्दा पनि अझै १० महिनाको भाडा बाँकी भएको हो’, उनले भने, ‘अहिले त्यही बक्यौता उठाउन सूचना जारी गरेका हौं ।’

समितिले बक्यौता रकम उठाउन एक वर्ष अघिदेखि नै पटकपटक पत्राचार गर्दैै आएको थियो । समितिले ५ भदौ ०७९ देखि २४ फागुन ०८० सम्म पहिलो पटक २१ दिन, दोस्रो पटक १५ दिन, तेस्रो पटक ७ दिन र चौंथो पटक पुनः ५ दिन समय सीमा तोकेर बक्यौता भाडा बुझाउन पत्राचार गरेको थियो ।

पटकपटक पत्राचार गर्दा पनि बक्यौता भाडा बुझाउन आनाकानी गर्दै आएपछि समितिको २ वैशाखमा बसेको बैठकले द द्वारिकाजलाई अन्तिम अवसर भन्दै सूचना प्रकाशन गरेको हो ।

केशरमहल स्वप्न बगैंचा व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले पटकपटक पत्राचार गर्दा पनि अटेरी गरेकाले अन्तिम पटक म्याद दिएर कानुनी कारवाहीको प्रक्रियामा जाने तयारी रहेको बताए ।

‘एक वर्षअघिबाटै समितिले बक्यौता रकम उठाउन ताकेता गर्दै आएको छ । तर, अहिलेसम्म तिर्न आएको छैन’, अध्यक्ष अधिकारीले अनलाइनखबरसँग भने, ‘यो अन्तिम सूचना हो, अब पनि तिरेन भने कानुनबमोजिम असुलउपर प्रक्रियामा जान्छौं ।’

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराका छोरा केशरशमशेर जबराको नाममा उक्त महलको नाम राखिएको हो । केशरमहलको ३४ रोपनी जग्गा १ साउन २०२६ मा केशरशमशेर परिवारले सरकारलाई हस्तान्तरण गरेको थियो ।

केशरमहलमा रहेको पुस्तकालय २०७२ सालको भूकम्पले भत्काएको थियो । त्यहाँको बगैंचालाई गार्डेन अफ ड्रिम्स अर्थात् स्वप्न बगैंचाका नामले चिनिन्छ । केशरमहल दरबार सरकारको नाममा आएको २ वर्षपछि २०२८ सालदेखि सर्वसाधारणले प्रवेश पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?