+

‘जंकफुड त बच्चाका लागि विषजस्तै हो’

२०८१ वैशाख  १३ गते ७:०० २०८१ वैशाख १३ गते ७:००
‘जंकफुड त बच्चाका लागि विषजस्तै हो’

काठमाडौं । ‘जंकफुड हानिकारक छ’ भनी चर्को स्वरमा निरन्तर खबरदारी गरिरहेकी छिन्, डा. अरुणा उप्रेती । लेख, अन्तर्वार्ता मात्र होइन, सामाजिक सञ्जालबाट पनि उनी यही कुरा जोडतोडले भनिरहेकी छिन्, ‘पत्रु खाना (जंकफुड) मानव स्वास्थ्यका लागि अति हानिकारक छ ।’

सर्वसाधरण द्विविधामा छन्, ‘बजारमा सहजै पाउने यी खानेकुरा वास्तवमै खान लायक होइनन् ? के यसबारे हामीकहाँ कुनै ठोस अध्ययन-अनुसन्धान भएको छ ? वा मनगढन्ते कुरा बोलिरहेका छौं ? यदि यी खानलायक छैनन् भने किन उत्पादन र बिक्री गर्न दिइन्छ ?’

यसै सेरोफेरोमा जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीसँग अनलाइनखबरकी रेणु त्वानाबासुले गरेको कुराकानीको सम्पादित अंश :

सबैले बुझ्ने भाषामा भनिदिनुस्, जंकफुड भनेको के हो ?

जंकफुड भनेको शरीरलाई काम नै नलाग्ने खाना हो । यसमा अत्याधिक मात्रामा क्यालोरी हुन्छ । तर शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, भिटामिन जस्ता पोषक तत्वहरु हुँदैनन् । केही जंकफुडमा भएपनि अति नै कम हुन्छ ।

दैनिक खाजाको रुपमा उपभोग गर्ने चाउचाउ, कुरमुरे, चिप्स, बिस्कुट पाउरोटी लगायत प्याकेजिङ खाना सबै जंकफुड हुन् ।

यस्तो खानामा अत्याधिक मात्रामा नुन, चिनी, ट्रान्स फ्याट (खराब चिल्लो), आकर्षक र लामो समय नकुहिने बनाउन र सुरक्षित राख्नका लागि विभिन्न प्रकारका रंग र रसायन मिसाएको हुन्छ । विशेषगरी जंकफुड मैदा, नुन र चिनीबाट बनाइएको हुन्छ, जसलाई सेतो विषमा रुपमा लिइन्छ ।

मैले त जंकफुडलाई राष्ट्रिय रोग भनेर मानेको छु । घरमा एकदिन बासी खाना नै खाँदा रोग लाग्छ खानुहुँदैन भन्छौं, तर त्यही जंकफुड एक-दुई वर्ष पुरानो पनि स्वादिलो मानी-मानी खाने चलन छ ।

जंकफुडले के कसरी हानि गर्छ भनी नेपालमा केही अध्ययन अनुसन्धान गरिएको छ ?

नेपालमा खास केही त्यस्तो अनुसन्धान भएको छैन । बच्चाहरुले खाने खानेकुरामा कति नुन र चिनी छ भनेर एउटा अनुसन्धान भएको थियो, त्यसबाहेक अरु कुनै अनुसन्धान भएको छैन ।

म आफैंले सानो–सानो रुपमा गरेको अनुसन्धान त नभनौं अनुभव भने छ । म जुम्ला जाँदा साना बच्चाहरुले ‘चिनो’ चाउचाउ खाइरहेका रहेछन् । यसो प्याकेट खोलेर हेर्दा त घुन लागेको, फंगस लागेको त्यस्तो रहेछ । त्यस्तो खानेकुरा बच्चाले खाएपछि त त्यसले कलेजोमा सिधा असर गर्छ नि । तर आमाबुवालाई थाहा छैन । उनीहरुले पैसा दिन्छन्, बच्चाले किनेर खान्छन् । त्यसले बच्चाको कलेजो बिग्रिन्छ । कलेजो बिग्रिएपछि त शरीरको अंगप्रत्यांग वयस्क नहुँदै खराब भइसक्छ ।

बच्चाले खाइरहेको जंकफुडमा नुन र चिनी बढी भयो भनी कहिले अध्ययन भएको थियो

यो चार वर्षअघिको कुरा हो । हेलेन केलर इन्टरनेसनल र नेपालको स्वास्थ्य मन्त्रालय मिलेर एउटा विस्तृत अध्ययन गरेको थियो ।

यसबारे बेलायतबाट प्रकाशित हुने द गार्जियनमा ‘बेबिज इन नेपाल गेट क्वाटर अफ क्यालोरी फ्रम जंक फुड’ शीर्षकको लेख नै छापिएको छ । कसरी यसले बच्चाहरु ख्याउटे, पुड्को, कमजोर हुन्छन् भनी उल्लेख गरिएको छ । १२ देखि २३ महिना उमेर समूहका ७४५ जना बच्चाबीच यो अध्ययन गरिएको थियो ।

पढेको वा सुनेको आधारमा मात्रै जंकफुडले हानि गर्छ भनिरहेका छौं कि यसको कुनै प्रमाणित तथ्यमा टेकेर ?

प्रमाणित तथ्य कति छ कति । तपाईंले ‘जंकफुड एण्ड क्यान्सर’ भनेर एकचोटि इन्टरनेटमा हेर्नु त कति रिसर्च भेटिन्छ । जंकफुड एण्ड क्यान्सर, जंकफुड एण्ड डाइबिटिज भनेर वेबसाइटमा खोज्नुहोस् त, यति धेरै रिसर्च भएको छ कि यसबारे केही भन्नै पर्दैन ।

तपाईं स्वयंले चाहिं जंकफुडले हानि गर्छ भनेर कुनै रिसर्च गर्नुभएको छ त ?

त्यो त मैले देखेकै छु नि । अध्ययन गर्नै पर्दैन । म नेपालभरि ७३ वटा जिल्लामा पुगेर बालबालिकालाई पत्रु खाना खुवाएर कुपोषित बनाइएको, बिरामी भएर अस्पताल जानुपर्ने अवस्थामा देखेको छु । के खाना खुवाएको भन्दाखेरि सबै अभिभावकले ‘मेरो बच्चाले दालभात खाँदैन, बिस्कुट, पाउरोटी, चाउचाउ खान्छ’ भनेका छन् ।

यसबारे मैले त रिसर्च नै गरेको छु । आजभन्दा सात वर्षअघि विश्व स्वास्थ्य संघसँग मिलेर मैले जंकफुडले असर गर्छ भनेर गरेको रिसर्च गरेको छु ।

यदि यो हानिकारक हो भने खाद्य गुण नियन्त्रण विभागले किन बिक्री गर्न दिएको होला ?

यो त राजनीतिक मुद्दा हो । यसलाई रोक्न सक्ने क्षमता खाद्य गुण नियन्त्रण विभागसँग छैन । रोक्न सक्ने त कोहीसँग पनि क्षमता हुँदैन । यसमा मान्छे आफैंले सचेत भएर आफैंले नियन्त्रण गर्ने हो । जस्तो चुरोट रक्सी खराब हुन्छ भन्ने सबैलाई थाहा हुन्छ । तर किन रोक्न सक्दैन भन्ने प्रश्न आउँछ नि । मान्छेले चुरोट नखानु हानि गर्छ, मुटु बिगार्छ भनिरहेकै हुन्छ, फोक्सो बिगार्छ । रक्सीले कलेजो बिगार्छ भनिरहेकै हुन्छ । विज्ञापनमा पनि डरलाग्दो फोटो देखाइएको हुन्छ । तैपनि मान्छेले खान छाड्दैन ।

जसरी मान्छेले आफ्नो छोराछोरीलाई रक्सी र चुरोट दिंदैन, त्यसैगरी उनीहरुलाई पत्रु खाना दिन छाड्नुपर्छ ।

बजारमा त जे पनि बिक्री हुन्छ । चुरोट रक्सी बिक्री भइरहेको छ । मुसाको विष पनि बिक्री भइरहेको छ । जंकफुड त बच्चाका लागि मुसाको विष जस्तै हो । आज खाएर भोलि नै मर्ने त होइन । तर बिस्तारै बिस्तारै विष जस्तै हो ।

अहिलेको पुस्ता धेरै स्मार्ट छन्, उनीहरुलाई त हामीले उपदेश भन्दा पनि उदाहरण दिने होला । जंकफुडले यस्तो हानि गर्छ भनेर हामीसँग उदाहरण छ ?

नेपालमा सबै मान्छेलाई रक्सी र चुरोटले हानि गर्छ भन्ने थाहा छ नि हैन ? त्यही पनि मान्छेले खान्छ । मान्छेको जात के भने जबसम्म आफूलाई पर्दैन तबसम्म छाड्दैन । कतिपय आमाबुवा आफ्नो बच्चा बिरामी भएर, अस्पताल लगेर उपचार गरेपछि पनि फेरि जंकफुड खुवाउने गरेको घटना मैले धेरै देखेकी छु ।

त्यसैले हाम्रो काम भनेको यसले राम्रो गर्दैन भनेर भनिरहने मात्र हो । जबसम्म सरकारले सरकारी माध्यमबाट यो खराब हो भन्दैन, तबसम्म मान्छेलाई बुद्धि आउँदैन ।

जंकफुड डा. अरुणा उप्रेती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?