
काठमाडौं । प्रचारको नयाँ शैली पछ्याउँदै फिल्म ‘मनसरा’ले यतिबेला देशव्यापी कविता कन्सर्ट गरिरहेको छ । पश्चिम नेपालका सहरबाट सुरु भएको यो अभियान पूर्वी सहरमा पनि हुन थालेको छ ।
बुधबार बिर्तामोडमा आयोजित समारोहमा कवि तथा फिल्म निर्देशक उपेन्द्र सुब्बा, कलाकार प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधानले कविता वाचन गरेर माहोललाई काव्यिक बनाए ।
अभिनेत्री मगरले आमा शशी सुब्बाले लेखेको कविता वाचन गरिन् भने ‘द पोएट आइडल’का जज समेत रहेका सुब्बाले मर्मस्पर्शी कविता पस्किए । कलाकारले कविता संग्रहबाट पनि कविता पढेर दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।
कविता सुनिरहेका श्रोतालाई फिल्म ‘मनसरा’ हेर्न आग्रह गरे । बुधबार दमक र धरानमा कविता कन्सर्ट आयोजना गरिएको छ । त्यसपछि इटहरी, बेलबारी र विराटनगरमा कार्यक्रम आयोजना गरिनेछ ।
त्यसअघि पोखरा र बुटवलमा पनि कविता कन्सर्ट भइसकेको छ । ‘मनसरा’ वैशाख २१ गतेदेखि प्रदर्शन हुँदैछ । ब्लकबस्टर ‘जारी’पछि उपेन्द्रको यो दोस्रो निर्देशकीय फिचर फिल्म हो ।
प्रतिक्रिया 4