+
+

उपचार शुल्क बुझाउन नसक्दा अस्पतालबाट घर जान पाएनन् रामविनय

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ वैशाख १६ गते १३:२२

१६ वैशाख, जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको ठीक अगाडि छ, कृष्ण मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पताल । यही अस्पतालको आईसीयू बेड नं.२०५ मा करिब एक महिनादेखि छन्, २२ वर्षीय युवक रामविनय महरा ।

गत चैत १४ गते साँझ मोटरसाइकल दुर्घटनामा घाइते भएपछि रामविनयलाई अस्पताल भर्ना गरिएको थियो । ८ दिनको उपचारपछि रामविनय निको भए । चैत २२ गते नै अस्पतालले उनलाई डिस्चार्ज पत्र दिइसकेको थियो । तर उनी वैशाख १६ गतेसम्म पनि अस्पतालबाट बाहिर निस्किन पाएका छैनन् । रामविनय घर जान नपाउनुको कारण हो, उपचार खर्च अस्पताललाई बुझाउन नसक्नु ।

दलित तथा विपन्न महरा परिवारले उपचार खर्च बुझाउन नसक्दा रामविनय अस्पतालको आईसीयुमै बन्धकजस्तै बनेका हुन् ।

डिस्चार्ज हुने दिन अर्थात चैत २२ गतेसम्म उनको उपचार खर्च फार्मेसीबाहेक ३ लाख रुपैयाँभन्दा धेरै थियो । जनेतेन चन्दा तथा ऋण उठाएर अस्पतालको ५० हजार र फार्मेसीको ४० हजार गरी ९० हजार रुपैयाँमात्र तिरेको रामविनयकी आमा प्रमिला बताउँछिन् ।

‘हामीसँग बेचेर दिने सम्पति छैन । गाउँघरमा कसैले ऋण दिँदैन, कहाँबाट रुपैयाँ ल्याउने ? कसरी छोरालाई अस्पतालबाट निकाल्ने ?’ आमा प्रमिला गुनासो गर्छिन्, ‘झन् आईसीयूमा राखेर बिल थपिइरहेको छ ।’

अस्पतालको लेखा शाखाका कर्मचारीका अनुसार उनको आईसीयूको बिलबाहेक ३ लाख रुपैयाँ उपचार खर्च छ । ‘आईसीयूको बिल जोड्न बाँकी छ । उहाँको उपचार खर्च ३ लाख रुपैयाँभन्दा माथि नै छ’, लेखा शाखामा कार्यरत ती कर्मचारीले भने ।

पूर्णरुपमा ठीक भइसकेका रामविनय आईसीयूमै बस्नु पर्दा अत्यासमा छन् । ‘म पूरै ठीक भइसकेको छु । स्वास्थ्यमा अब केही समस्या छैन । त्यत्रो उपचार खर्च तिर्ने मेरो परिवारको हैसियत छैन’, रामविनयले भने, ‘बेडमा वाक्कदिक्क भइसकेको छु ।’

छोरालाई उपचार खर्च तिरेर अस्पतालबाट निकाल्न रामविनयका बुबा पञ्चु महरा र आमा प्रमिला खर्च जुटाउन भौंतारिरहेका छन् । महरा परिवारको सम्पतिको नाममा केबल २ धुर घडेरी र त्यसैमा बनेको एउटा घर बाहेक केही छैन ।

मजदुरी गरेर महराको परिवार चल्छ । तर, छोरालाई अस्पतालबाट निकाल्ने प्रयासमा उनीहरु चन्दा संकलनसँगै नेता, जनप्रतिनिधि, दलित अगुवा, भरभलादमी लगायतको दैलो चहार्न बाध्य छन् ।

झन् आईसीयुमा राखेको आर्थिक बोझ थपिँदै जान थालेपछि महरा परिवारको बेचैनी पनि बढेको छ । आईसीयूबाट निकालिदिन बिलौना गर्दा पनि अस्पताल सञ्चालक मान्दैनन् । ‘ठीक भइसकेको छ । कम्तिमा आईसीयूबाट बाहिर निकालिदिनुस् भनेर सञ्चालकसँग हात जोडेर बिन्ती गरें । तर, मान्नु भएन’, आमा प्रमिलाले भनिन्, ‘जबसम्म सबै पैसा तिर्दैन, तबसम्म जान दिन्नँ, आईसीयूको पनि सबै पैसा तिर्नु पर्छ भन्नुहुन्छ ।’

अस्पतालमा रामविनयकी श्रीमती मनिषा एक महिनादेखि कुरुवा बसेकी छन् । एक वर्षअघि मात्र मनिषाको रामविनयसँग बिहे भएको थियो ।

मजदुरी गर्न भारतको मुम्बई गएका रामविनय र मनिषा होलीको एक दिनअघि मात्र घर फर्केका थिए । त्यतिबेलै रामविनय दुर्घटनामा घाइते भए । श्रीमान् उपचारपछि निको हुँदा खुसी देखिएकी मनिषा अस्पताललाई बुझाउने पैसा नजुट्दा भने दुःखी देखिन्छिन् । सबै पैसा नबुझाए अस्पतालबाट जान नदिने अडान अस्पताल प्रशासनका कर्मचारीले भनेको मनिषाले बताइन् ।

अस्पतालका इन्चार्ज देवेन्द्र यादवले अस्पतालले उपचार गरिदिएको र शुल्क बुझाएर लैजान भन्दा नलगेको बताए ।

अस्पताल सञ्चालक रामपृत यादवले आफू छोरीको बिहेमा व्यस्त भएकाले अस्पतालको सबै विषयमा अपडेट नभएको बताउँछन् । ‘बिहे हिजो मात्रै सकेकाले सबै अस्तव्यस्त छ । त्यो विषय (रामविनयको उपचार खर्च)मा पछि मात्र केही भन्न सक्छु,’ उनले भने ।

परिवारलाई थाहै नदिइ प्रादेशिक अस्पतालबाट निजीमा रेफर

चैत १४ गते होलीको दिन । एकदिन अघि मात्र मुम्बईबाट घर फर्केका रामविनय साँझतिर छिमेक रामकिसुनको रामको ज १२ प ३४६५ नम्बरको मोटरसाइकल चढेरमा बाहिर निस्केका थिए ।

धनुषाको औरही प्रहरी चौकीका इन्चार्ज सई हेमबहादुर कुवँरका अनुसार चैत १४ गते साँझ ७ बजेर ५० मिनेटमा मोटरसाइकल अनियन्त्रित भएर धनुषाको औरही गाउँपालिकाको कप्टौल भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

‘मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयबाट जानकारी पायौं,’ सई कुवँरले भने, ‘हामी घटनास्थल पुग्दा रामकिसुनलाई सामान्य चोटपटक लागेको थियो भने रामविनय अलि बढी घाइते थिए ।’ त्यसपछि प्रहरीले रामविनयलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो ।’

दुर्घटनाको खबर पाएका घरपरिवारका सदस्य प्रादेशिक अस्पताल पुग्दा रामविनयलाई एम्बुलेन्समा राखेर कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पताल पुर्याइसकिएको थियो ।

‘सुन्नेबितिकै हामी प्रादेशिक अस्पताल पुग्यौं । हामी पुग्दा त्यहाँबाट रेफर गरेर कृष्णा मेडिकलमा पठाएको जानकारी भयो । किन यो अस्पतालमा पठाइयो ? कसले ल्यायो ? हामीलाई अहिलेसम्म केही थाहा छैन’, आमा प्रमिलाले भनिन् ।

प्रादेशिक अस्पतालमै उपचार भएको भए रकम अभावमा छोरा बन्धक बन्ने थिएन भन्ने उनलाई लागेको छ । ‘सरकारी अस्पतालमा उपचार भएको भए सस्तो हुन्थ्यो, मेरो छोरा बन्धक बन्नुपर्ने थिएन । यहाँबाट बन्धक मुक्त गराइदिन सबैले सहयोग गदिनुपर्यो’, आमा प्रमिला बिन्ती गर्छिन् ।

२ वर्षअघि नै न्युरो अपरेसन थिएटरको उदघाटन तर बिरामी निजीमा रेफर

प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले न्युरोसम्बन्धी डाक्टर नरहेकाले बाहिर रेफर गरेको हुन सक्ने बताए ।

यद्यपि, मधेश सरकारको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सबभन्दा ठूलो प्रादेशिक अस्पताल जनकपुरमा २ वर्षअघि नै न्युरोसम्बन्धी अपरेसन थिएटरको उद्घाटन भएको थियो । तर, जनशक्ति अभावले अहिलेसम्म न्युरोसम्बन्धी उपचार सुरु गर्न नसकेको निर्देशक पण्डितले बताए ।

प्रादेशिक अस्पतालमा न्युरोसम्बन्धी चिकित्सक नहुँदा आकस्मिक सेवामा पुगेका सेवाग्राहीलाई चिकित्सकहरुले रेफर गरेर निजी अस्पतालमा पठाउने गरेका छन् ।

रामविनयकी आमा प्रमिलाले आफ्नो छोरा मोटरसाइकलको पछाडि बसेको बेला दुर्घटना भएको भन्दै उपचार खर्च मोटरसाइकलवालाले व्यहोर्नुपर्ने बताउँछिन् । तर औरही प्रहरी चौकीले आफ्नो पति पञ्चुरामलाई प्रभावमा पारेर ४० हजार रुपैयाँमा मात्र मिलापत्र गराइदिएर मोटरसाइकलवालालाई छाडिदिएको उनको गुनासो छ । उनी भन्छिन्, ‘उपचार खर्च मोटरसाइकलवालाले व्यहोर्नुपर्थ्यो तर पतिलाई प्रभावमा पारेर ४० हजारमा मिलापत्र गराइयो, त्यो पैसाले उपचार गर्नै पुगेन ।’

 

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?