+
+
अभिनेता महेश त्रिपाठीसँग संवाद :

‘चर्चाको लागि स्क्यान्डल गर्ने पक्षमा छैन, गर्दिनँ पनि’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १४:५०
फिल्म ‘खजुरे ब्रो’को क्यारेक्टर लुक्समा अभिनेता त्रिपाठी

काठमाडौं । अभिनेता महेश त्रिपाठी यतिबेला घरेलु फिल्मका यस्ता सेतु हुन् जो आर्टहाउस र कमर्सियल दुर्ईथरी फिल्मलाई जोड्न सक्छन् । ओस्कारमा सिफारिस भएको ‘हल्कारा’को हुलाकी पात्र होस् या ‘चपली हाइट ३’ को प्रहरी पात्र । भिन्न अभिनय पाठशालालाई जोड्न सक्ने त्रिपाठीको खुबी हो । उनी अहिले पैसा कमाउने र कलात्मक मूल्य बोक्ने दुवैथरी फिल्म बन्न जरुरी देख्छन् ।

वैशाख २८ गते प्रदर्शन तयारीमा रहेको ‘खजुरे ब्रो’मा उनी ‘चिल्ली ब्रो’ भूमिकामा छन् । आगामी फिल्म, आफ्नो चरित्र चित्रण, फिल्ममेकिङको शैलीबारे त्रिपाठीले अनलाइनखबरसँग कुरा गरेका छन् । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश :

खजुरे ब्रो’ कत्तिको आदर्शवान र प्रेरणादायी पात्र हो ?

यो पात्र आदर्शवान पात्र पनि होइन । समाजका लागि आवश्यक पात्र पनि होइन । तर समाजको उपज हो । कुनै पनि पात्रको समाजप्रतिको भूमिका आ-आफ्नो तवरबाट हुन्छ । डाक्टर, पाइलट, इन्जिनियरको समाजप्रतिको उत्तरदायित्व भिन्न ढंगले हुनसक्छ । विभिन्न खाले मान्छेको सम्मिश्रणको समाजबाट विभिन्न खाले मान्छे निस्कन्छन् । हाम्रै समाजको उपज हो यो । धरानको जस्तोसुकै मान्छेले पनि यसलाई लिजेन्ड भन्छन् ।

तर पनि अन्य भूगोलका मान्छेसँग पनि यो पात्र कनेक्ट हुनसक्छ । मानवीय संवेदना र कथा भएकाले पनि नेपालका अन्य भूगोलका मान्छे पनि यससँग जोडिन सक्छन् । तर ‘खजुरे ब्रो’ यस्तो मान्छे छ कि जो असाधारण लाग्छ । तर यो सुपरपावर बोकेको मान्छे पनि होइन । यसका आफ्नै सीमा छन् । आफ्नै सामाजिक र भौतिक दायरा छन् । तर एकदमै रोचक पात्र हो यो । उसका आफ्नै दुःख र संघर्ष छन् तर ‘आउटसाइडर’का लागि यो मनोरञ्जनको पात्र हो ।

प्रेरणा त उसका हरेक गतिविधिबाट हुनसक्छ । उसको गतिविधि हेरेर यस्तो गर्न नहुने रहेछ भने बुझ्न पनि सकिन्छ ।

तपाईंको भूमिका के छ यसमा ?

यसमा मैले ‘चिल्ली ब्रो’ पात्रको भूमिका निर्वाह गरेको छु । यो चाहिं ‘मल्टिलेयर क्यारेक्टर’ छ । हामी पनि आफ्नो व्यवसायको क्षेत्रमा एउटा प्रस्तुति बनाउनुपर्ने हुन्छ । घरपरिवारको अघि एउटा थरी हुन्छ । सामाजिक–राजनीतिकरुपमा अर्कोथरी हुन्छ । एउटा कलाकारलाई अभिनय गर्न मन लाग्ने पात्र हो यो चिल्ली ब्रो । एक्टरको रुपमा महसुस गर्दा यसमा पूर्ण ‘आर्क’ छ ।

यो फिल्म किन हेर्ने ?

फिल्म गम्भीर पनि छ, सँगै यसले समाजका केही गम्भीर चीज पनि उठाएको छ । तर हल्का र रमाइलो पारामा उठाएको छ । समाजका गम्भीर कुरालाई सिरियस भएर भन्नुपर्ने पनि छैन । भाष्य त जस्तो पनि हुनसक्छ । समकालीन समाजका ज्वलन्त कुरालाई पनि यसले कटाक्ष गरेको छ । समाज-राजनीतिलाई व्यंग्य गरेको छ ।

हामी केही भयो भने राजनीति र नेतालाई मात्र गाली गर्ने गर्छौं । नेता र राजनीति हाम्रो समाजभन्दा बाहिरको चीज होइन । राजनीति खराब छ भने समाज पनि खराब छ ।

तपाईंको करिअरमा यो ‘चिल्ली ब्रो’ पात्रले के अर्थ राख्छ ?

मेरो करिअरमा यो पात्रले एउटा ‘मार्क’ चाहिं गर्छ । मैले गरेका फिल्म व्यावसायिक सफल त छैनन् तर समीक्षात्मक कोणबाट राम्रो भइरहेको छ । ‘चपली हाइट २’ गर्दा पनि राम्रै प्रशंसा भएको हो मेरो अभिनयको । ‘हल्कारा’को संरचना नै प्रशंसनीय हुने खालको छ । यो चरित्र पनि अप्रिसियट हुन्छ जस्तो मलाई लाग्छ । यो पात्र मेरो ‘कम्फर्ट जोन’ भन्दाको फरक चरित्र हो ।

यसमा अभिनय गर्दा पनि चुनौती भयो । यो धरानको स्थानीय चरित्र हो । यसको बौद्धिकता र मेरो बौद्धिकता पनि भिन्न छ होला । यो चाहिं उल्लेखनीय काम हुनसक्छ जस्तो लाग्छ मलाई ।

चपली हाइट २’, ‘प्रसाद २’ जस्ता फिल्मका चरित्रप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? चर्चामा आउन मन लाग्दैन ?

कामको हिसाबले म सन्तुष्ट छु । मैले गरेको कामले प्रशंसा पाएका छन् । ती चीज चाहिं ठीक छन् । रेस्पोन्स आउँदा रमाइलो लाग्छ । कलाकारको धर्म पनि त्यही हो । अर्को चीज भनेको ‘चर्चा’ हो । चर्चा जति हुन्छ, उति नै ‘लार्जर स्कुल’मा पुग्ने हो । मैले बुझेको के हो भने राम्रो काम गर्दा चर्चा हुन्छ भन्ने बुझ्ने हो । हाम्रो चर्चाको प्यारामिटर फरक रहेछ । मैले बुझेअनुसार कुनै ठाउँमा जाँदा सर्वसाधारणले नचिन्दा समस्या बन्ने रहेछ ।

मान्छेले हेर्ने, निर्माताले हेर्ने दृष्टिकोणबाट कामको विषयमा समस्या छैन । चार-पाँच फिल्म त मैले अहिले छाडें । अलिकति चलेको मान्छे भयो भने पारिश्रमिक धेरै हुने । मैले के महसुस गरेको हो भने व्यावसायिक हिट हुनुपर्ने रहेछ कि स्क्यान्डल हुनुपर्ने रहेछ नेपालमा । चर्चाको लागि म स्क्यान्डल गर्ने पक्षमा छैन,  गर्दिनँ पनि । कलाकारिताले मात्र मेरो चर्चा हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यो पनि दिन आउला । मैले गरेको नराम्रो कामले, मैले लिएको पारिश्रमिकले मेरो चर्चा हुने होइन । मेरो करिअरमा कमर्सियल हिट फिल्म आउन बाँकी छ जस्तो लाग्छ ।

अब कसरी अघि बढ्ने विचार छ ?

अब अलिकति धेरै दर्शक (लार्ज अडिएन्स)सामु पुग्ने प्रयास गरिराख्या छु । केही व्यावसायिक अप्रोच भएका, धेरै दर्शकले हेर्नसक्ने फिल्म चाहिं गर्ने योजनामा छु । कलात्मक मूल्य बोकेका फिल्म त गरिन्छ नै । कलाकारलाई पहिचान बनेन भनेपनि अप्ठ्यारो पर्छ नि । त्यो कारणले व्यावसायिक अप्रोच भएका फिल्म गरेर अघि बढ्छु होला ।

तपाईंलाई कस्ता चरित्रमा देखिन मन छ ?

समय चाँडो वा ढिलो के हुन्छ भन्ने कुरा बुझ्न पनि जरुरी छ । मैले जसरी चरित्रलाई बुझ्छु, अहिलेको नेपाली फिल्मले त्यसरी नबुझेको पनि त हुनसक्छ नि । अहिलेको समयमा मैले गर्न चाहेका पात्र ठ्याक्कै यही नै हो भन्ने छैन । तर केही रोचक हुनुपर्छ जसले मान्छे बोकुन्, न कि मान्छेको हिंडाइ, बोलाइ, साउन्ड र कस्ट्युम मात्र नबोकुन् । पूर्णरुपमा मान्छे बोकुन् ।

हामीलाई अहिले कस्ता फिल्म जरुरी छ ?

‘मार्केट ग्रोथ’को हिसाबले पनि हामीलाई यतिबेला व्यावसायिक अप्रोचका फिल्म जरुरी छ । किनभने हामीलाई बजार बिस्तार गर्न जरुरी छ । सँगै विश्व बजारमा सिनेमाको मूल्य बढाउन गम्भीर फिल्म पनि चाहिन्छ । यी दुईथरी फिल्म अघि बढ्नु जरुरी छ । तर यतिबेला मैले यहाँ ठूलो द्वन्द्व देखिराखेको छु । कमर्सियल बनाउनेले आर्ट फिल्म बनाउनेलाई डकुमेन्ट्री बनाएर बजार बिगारे भन्नेछ । आर्टवालाले कमर्सियललाई फिल्म नै होइनन् भन्ने भनाइ छ ।

फिल्म धेरै व्यावसायिक सफल नहुन सक्छन् । यति हुँदाहुँदै पनि व्यावसायिक अपेक्षा उच्च राख्ने र नहुँदा दर्शकलाई गाली गर्ने प्रवृत्ति छ । यस्तो पनि होइन । समाजको साक्षरता र बुझाइ त समयअनुसार परिवर्तन हुँदै जाने हो । एकैपटक हलिउड, फ्रान्स, युरोपियन आर्टहाउस फिल्म बनाएर ‘छक्कापञ्जा’ हेर्ने दर्शकले हेर्छन् भन्ने हुँदैन । हेर्नुपर्छ भन्ने पनि होइन ।

यसकारण हामीलाई यी दुवैथरी फिल्म चाहिन्छ । व्यावसायिक मात्रै भनेर सोचेर जाँदा कमर्सियलरुपमा फड्को त मार्ला तर विश्व बजारमा त्यसको मूल्यको कुरा पनि छ । यी दुईको तालमेल चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?