
काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चितम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्जाइमर्स पीडित उनको सोमबार १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।
काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मुम्बईमा रहेकी एकमात्र छोरी काठमाडौं आइनसकेपछि पुरेतले दागबत्ती दिएका उनको भतिजा विकास लोहनीले जानकारी दिए ।
लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेत्री माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुकी एक छोरी छिन् ।
यसरी सीपीसँग मालाको विवाह भयो
फिल्म ‘माइतीघर’मा नेपाली मूलकी भारतीय अभिनेत्री माला सिन्हा सीपीको अपोजिटमा थिइन् । मालाको सिपीसँगै विवाह भयो । तर उनले सिपीसँग तीन पटक विवाह गर्नुपर्यो ।
‘प्यासा’, ‘धूल का फूल’ र ‘माया’ जस्ता फिल्ममा दमदार अभिनय गरेकी माला बलिउडको दिग्गज अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो करियरमा हरेक ठूला अभिनेतासँग सहकार्य गरिन् । अभिनेता धर्मेन्द्रसँग उनको जोडी दर्शकले निकै मन पराएका थिए ।
दर्शकले धर्मेन्द्र र मालाको जोडीलाई मन पराए पनि मालाले भने अभिनेता सिपीसँग दिल साटेकी थिइन् । सिपीसँग प्रेममा रहेकी मालाले सिपीसँगै विवाह गर्ने निर्णय लिएकी थिइन् ।
मालाकी आमा नेपाली र बुवा इसाई थिए । यहि कारण उनीहरुको विवाह कुन संस्कार अनुसार गर्ने भन्ने विषयमा विवाद सिर्जना भयो । उनले परिवारलाई पहिला हिन्दु, त्यसपछि इसाई र अन्तिममा अदालती विवाह गर्ने निर्णय गर्ने विषयमा राजी बनाइन् । यहि कारण उनले सिपीसँग तीन पटक विवाह गर्नुप¥यो । माला हाल फिल्मबाट टाढा छिन् ।
‘माइतीघर’ फिल्म युट्युबमा हेर्नुहोस् :
प्रतिक्रिया 4