
१८ वैशाख, काठमाडौं । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।
सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सितेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले सितेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी शनिलाई पक्राउ गरेको छ ।
उनीहरुले सितेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
‘पीडित हिजोमात्रै कतारबाट फर्किएको, कतारबाट फर्किंदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिई आफ्नो भतिज अजिम अलीलाई दिनु भनी निजको मोबाइल नम्बर दिई पठाएको । पीडित काठमाडौंमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आई रिसिभ गरेको भन्ने बुझिएको छ’, भट्टराईले भने ।
सितेन्द्रले सोमबार साँझ घरमा पत्नीलाई फोन गरेर आफू अपहरणमा परेको र ४ लाख ८० हजार रुपैयाँ दिनुपर्ने बताएका थिए । अजिम अलीले सुन आफूले नपाएको भनि आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगी कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनि धम्की दिएको र पासपोर्टसमेत जबरजस्ती लिएको पनि पाएको एसएसपी भट्टराईले बताए ।
प्रतिक्रिया 4