१८ बैशाख, काठमाडौं । बेलायतमा हुने मैत्रीपूर्ण खेलका लागि खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग छलफल गरेका छन् ।
भीसा आउन ढिलाइ भएको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव किरण राईले मंगलबार रातिसम्म भिसा आउने बताए । नेपाली नागरिकले बेलायत जान भारतको नयाँदिल्लीस्थित दूतावासबाट भिसा लिनुपर्छ ।
एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र सोमबार स्वीकृति दिएको सदस्य सचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए । यसबाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य पदाधिकारीको सहभागिताको स्वीकृतिको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे ।
यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले लिएको तर अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे । उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । तर एन्फाले उनीहरूको भिसाको लागि बेलायती राजदुतावासमा भिसाको लागि सिफारिस गरेको पनि बताए ।
राष्ट्रिय खेलकुद ऐन अनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्ने निर्णय युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले गरेका छन् । स्वीकृति नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउनेछैनन् ।
युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृती बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ ।
प्रतिक्रिया 4