
२१ वैशाख, काठमाडौं । चौधरी ग्रुप (सीजी) द्वारा ललितपुर भैंसेपाटीमा सञ्चालित सीजी फुड पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ ।
शुक्रबार अपराह्न ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको अज्ञात समूहका अधिकांश महिला र केही पुरुषले पार्कमा कार्यरत कर्मचारीमाथि हातपात तथा भौतिक सम्पत्ति तोडफोड गरेको सीजीले जनाएको छ ।
उनीहरूले पार्कभित्र छिरेर ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सीजीका व्यवस्थापकमाथि अभद्र र असभ्य व्यवहार गरेको सीजीका प्रवक्ता मधुसूदन पौडेलले जानकारी दिए ।
उता, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले उक्त समूहका १७ महिला र पाँच पुरुषलाई पक्राउ गरिएको जानकारी दिए । साथमा बस चालक र सहचालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू को हुन् भन्नेबारे नखुलेको र अनुन्धान जारी रहेको उनले जानकारी दिए ।
सीजीले उद्योगमाथि दिन–दहाडै भएको आक्रमण निन्दनीय भएको भन्दै घटनाको भत्र्सना गरेको छ । घटनाले देशको औद्योगिक वातावरणमा नराम्रो असर पुर्याउन सक्नेतर्फ सचेत रहन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । सीजीले घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
प्रतिक्रिया 4