
२५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका यात्रामा रहेकै बेला उनको पार्टी फुट्यो ।
प्रतिनिधिसभामा रहेका १२ सांसदमध्ये ७ जनाले नयाँ दल जसपा निर्माण गरेको भोलिपल्ट अर्थात् सोमबार राति उनी काठमाडौं आइपुगे । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर फर्केका यादवसँग गरिएको छोटो कुराकानी :
तपाईं विदेशमा रहेका बेला पार्टी नै फुट्यो नि ?
पार्टी फुटेको होइन, फुटाइएको हो । केही मान्छेहरु छाडेर गएका हुन् ।
तपाईंले सत्ता गठबन्धन फेर्न लाग्नुभयो भनेर काउन्टर दिएको भन्नुभएको छ फुटेर जाने नेताहरुले !
त्यो सब भ्रम फिँजाइएको हो । म विदेशमा बसेर गठबन्धन फेर्ने कल्पना उहाँहरुले फिँजाउनुभयो ।
उसो भए तपाईं र माधव नेपाल कांग्रेसको समर्थनमा आलोपालो प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्थ्यो भन्ने किन प्रशस्तै चर्चा भयो ?
त्यस्तो कुनै कुरा भएको थिएन । आधारहीन कथा बनाइयो । हामी यो सरकारमा बसेर काम गरिरहेकै छौं त । सबैलाई थाहा छ ।
नयाँ जसपाका नेताहरुले अहिलेको सरकारलाई आफूहरुको समर्थन कायमै छ भन्नुभएको छ, तपाईंको विचार चाहिँ के छ ?
ती भ्रमको खेती गर्ने साथीहरुलाई पनि थाहै छ, यो सरकारलाई मेरो बलियो साथ छ । म आफैं सरकारमा छु । मेरो साथ हुँदैन त ?
तपाईं अमेरिकामा रहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग फोनमा पटक पटक कुराकानी भएको थियो भन्ने सुनियो, के हो ?
सबै अफवााह हो । कुनै सत्यता छैन । म यो सरकारको कामकै सिलसिलामा गएको हुँ ।
अघि प्रधानमन्त्रीसँग चाहिँ के कुरा गर्नुभयो ?
उहाँसँग भेटेर परिस्थिति के हो भनी स्पष्ट पार्ने काम भयो । मैले आफ्ना कुरा राखें । उहाँले पनि राख्नुभयो । कोही भ्रममा पर्न आवश्यक छैन भन्ने कुरा नै भयो । हामी यो सरकारमा महत्वपूर्ण साझेदारका रुपमा छौं नि ।
उहाँले के जवाफ दिनुभयो ? के भन्नुभयो ?
यिनै कुरा भए । के रहेछ वास्तविकता भनेर बुझ्ने कुरा भयो ।
मतलब, यो सरकारलाई तपाईंले दिएको समर्थन अहिले पनि कायम छ, तपार्इं निरन्तर सरकारमा रहनुहुन्छ ?
अँ, त्यस्तै हो । समर्थन कायम छ । कायम नहुनुपर्ने के छ ?
खासमा पार्टी कसले फुटायो त ?
अहिले हामी त्यही कुरा अध्ययन गरिरहेका छौं ।
तपाईंको पार्टी फुटको असर केन्द्रमा मात्रै नभई प्रदेशमा पनि पर्ने छ । खासगरी मधेश प्रदेशमा । के सोच्नुभएको छ ?
यो फुट नै होइन, केही साथीहरु गएका हुन् । ठूलो नेता कार्यकर्ता पंक्ति सबै यता छ । हामी सल्लाह गर्छौं ।
अब कसरी अगाडि बढ्नुहुन्छ ?
सल्लाह गर्छौं । बैठक हुन्छ ।
प्रतिक्रिया 4