+
+

युवाको गुनासो सुन्न आएका सांसदकै गुनासो– सरकारले हाम्रो कुरा सुन्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २९ गते १९:३९

२९ वैशाख, हेटौंडा । बागमती प्रदेश युवा सम्मेलन–२०८१ को नीति, राजनीति र समृद्धि शीर्षकमाथिको बहससँगै युवाहरुको प्रश्न र गुनासो सुन्न आएका प्रतिनिधिसभाका तीन सांसदले आफ्नै गुनासो पोखे ।

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ र माओवादी केन्द्रका सांसद माधव सापकोटाले युवाहरुको प्रश्नको जवाफसँगै आफ्नै पीडा पनि सुनाएका हुन् ।

हेटौंडामा जारी युवा सम्मेलनमा सहभागीहरुले तीन जना सांसदलाई नीति निर्माणमा काम हुन नसकेको, मुलुक अस्थिरतामा फसेको, वडाअध्यक्षले गर्ने काम देखाएर सांसदले भोटको राजनीति गरेको, युवाहरुको मुद्दा सम्बोधन नभएको लगायतका प्रश्न राखेका थिए ।

प्रश्नमाथि तीनै जना सांसदले निर्वाचन प्रणाली, संसदीय अंक गणितले निम्त्यिाएको अस्थिरता र सरकारको नेतृत्वकर्ताहरुको शैलीलाई कारक तत्वको रुपमा देखाउन खोजे ।

सांसद बर्तौलाले सांसदले उठाएका विषय ठीक समयमा ठीक ठाउँमा कार्यान्वयन नभएको गुनासो गरे । ‘हामी सरकारका नभई जनताका प्रतिनिधि हौं । हामीले उठाएका कुरा सरकारले सुन्दैसुन्दैनन्, हामी निराश छौं’, उनले थपे । सरकारले जनताका प्रतिनिधिले उठाएका सवाल कार्यान्वयन नगर्दा सांसदहरु बेकामे बनेको पीडा पोखे ।

विगत डेढ वर्षमा प्रतिनिधिसभाबाट ४ वटा मात्रै कानुन बन्न सकेकाले सांसदमाथि प्रश्न उठ्ने ठाउँ रहेको बर्तौलाले बताए । ८१ वटा कानुन निर्माण गर्नुपर्नेमा ४ वटा मात्रै कानुन निर्माण भएकाले समस्या उत्पन्न भएको उनी बताउँछन् ।

कांग्रेस सचेतक थिङले भनिन्, ‘प्लेटोले भन्नुभएको छ, वुद्धिमान हौ भने राजनीति गर । नत्र मुर्खहरुबाट शासित हुनुपर्छ,’ टालाटुलीबाटुली जस्तै सरकार रहेकाले युवाले अपेक्षा गरेअनुसारको काम हुन नसकेको थिङले दाबी गरिन् । नीतिमा २५ वर्षपछि युवाहरुलाई सांसदमा जान सक्ने व्यवस्था गरेकोसमेत थिङले उल्लेख गरिन् ।

स्थिर सरकार बनाउने जिम्मा युवाहरुको काँधमा आएको उनको भनाइ थियो । ‘संसदीय अंक गणितले गर्दा कहिले सत्तापक्ष त कहिले प्रतिपक्ष भइराखेका छौं । यसरी काम हुनै सक्दैन नि’, उनले भनेकी छन् ।

राज्यको नीति धेरै खराब नभएको तर परिचालन गर्ने व्यक्ति खराब भएको उनले बताइन् । कानुन निर्माणका सम्बन्धमा विधायकहरुले पर्याप्त समय नपाएको गुनासो गरिन् । विधेयकमाथि संशोधन प्रस्ताव ७२ घण्टा दर्ता गरिसक्नुपर्ने प्रावधान अव्यवहारिक भएको उनको भनाइ थियो ।

सांसद थिङले युवाहरु कि खाडीमा कि कारागारमा पुगेकामा चिन्ता व्यक्त गरिन् । जर्वजस्तीकरणी र लागूऔषध मुद्दामा युवाहरुले कारागार भरिएको उनको भनाइ थियो ।

जबर्जस्तीकरण सम्बन्धी कानुनले तोकेको १८ वर्ष उमेर सीमा र अन्य प्रावधानले धेरै युवालाई जेल पुर्‍याएको थिङको टिप्पणी थियो । जबर्जस्तीकरणी सम्बन्धी कानुन परिमार्जन आवश्यक रहेको उनले बताइन् । ‘कानुन संशोधनको विषय पनि उठेको छ । तर, यसको अर्थ अनर्थ नलागोस्’, थिङले भनिन् ।

माओवादी सांसद सापकोटाले शासकीय प्रणालीलाई दोष दिए । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाबाट स्थिर सरकार हुनुपर्ने माओवादीको एजेण्डामा अन्य राजनीतिक दल सहमत नहुँदा संविधान निर्माणकै बेलामा शासकीय प्रणालीको विषयमा गल्ती हुन पुगेको बताए । संसदीय प्रणालीका कारण मुलुकमा अस्थिरता रहेको उनको दाबी थियो ।

प्रधानमन्त्री वडा कार्यालयको उद्घाटनसम्म पुगेको विषय उठेपछि सापकोटाले प्रधानमन्त्रीले सिंहदरबारमा बसेर नीति तथा शासन व्यवस्था सञ्चालन गर्नुपर्ने बताए । सांसदहरुको काम, कर्तव्यमाथि जनता सचेत नभएकोप्रति सापकोटाले गुनासो राखे ।

भोट माग्न जाँदा सांसदलाई कास्तो कानुन निर्माण गर्छस् भनेर सचेत रुपमा नसोधेसम्म अवस्था नसुध्रिने उनको भनाइ थियो । ‘सांसदको काम कानुन निर्माण गर्ने हो । बाटोघाटो बनाउने भइरहेको छ । चुनावमा कानुनका कुरा कम सुनिन्छ । धारा, सडक दिन्छौं भनेर भन्नु परेको छ’ उनले भने ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा भएको प्रदेश युवा सम्मेलन आइतबारसम्म हुनेछ ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ८९ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको छ । युवा सम्मेलनमा जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइएको परिषद्ले उल्लेख गरेको छ ।

सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा गरेर ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया भएको छ । पाँच सत्रमा उठान भएका मुद्दामा छलफलका लागि आइतबार बागमतीका मुख्यमन्त्रीसँग युवा कार्यक्रम गर्ने तयारी परिषद्को छ ।

सम्मेलनमा युवाको ज्ञानसीप, सिर्जना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यबाट गतिविधि सञ्चालन भएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।

सम्मेलनमा शिक्षामा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीप देशमा लगानीको सम्भावनाका विषयमा अन्तर्क्रिया भएको छ । युवा सम्मेलनबाट वर्ष २०८१ लाई ‘युवा सीप वर्ष’ घोषणा गर्ने तयारी गरिएको उपाध्यक्ष चौलागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?