
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारीमा नेकपा एमालेको प्रभुत्व बढी रहेको आरोप लगाएका छन् ।
संसदीय छानबिन समिति बनाउन सत्ता पक्षका अन्य दल तयार हुँदा पनि एमाले तयार नहुँदा उक्त दलप्रति आशंका बढेको उनले बताए । संसदीय छानविन समितिको विपक्षमो एमाले देखिएको छ ।
‘ठूलो संलग्नता छानबिन समिति गर्नै हुन्न भनिरहनु भएको छ । उहाँको पनि धेरै ठूलो संलग्नताको आशंका पनि छ,’ एमालेप्रति संकेत गर्दै महतले भने, ‘यो त विस्तारै विस्तारै सबै देखिरहेको छ नि । सबै भन्दा ज्यादा प्रभुत्व उहाँहरुकै छ नि ।’
शीर्ष नेताको बैठक पछि प्रतिक्रिया दिँदै महतले कांग्रेसका नेताहरु संलग्न रहेको सहकारीमा कहिंकतै समस्या नभएको महतले दाबी गरे । ‘दुरुपयोगमा हाम्रा साथीहरुको संलग्नता अहिलेसम्म पाएका छैनौं,’ महतले भने, ‘कोही संलग्न छ भने छानबिनका लागि हामी तयार छौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं छानविन समितिप्रति लचक देखिँदा एमाले विपक्षमा देखिनु आश्चर्यजनक भएको उनले बताए । ‘जो व्यक्ति आफैं तयार हुनुहुन्छ भने अरुलाई आपत्ति किन?’ एमालेलाई उनले प्रश्न गरे, ‘एकले अर्कालाई देखाएर अल्मल्याउने आशय त होइन? जसको विषयमा प्रश्न उठ्या छ उहाँ तयार हुनुहुन्छ भने अरुलाई आपत्ति हुनुपर्ने किन ?’
गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायराबाट बाहिर राखेर छानबिन समिति भने बन्न नसक्ने उनले बताए । अनुसन्धान प्रक्रिया गृहमन्त्रीमार्फत नै रोकिएकाले संसदीय छानबिन समितिको माग गर्नुपरेको महतले बताए ।
‘बटम लाइन संसदीय छानविन समिति नै हो । संसदमा कसरी प्रस्तुत हुने प्रक्रियाका बारेमा संसदीय दलको बैठकमा भोली छलफल हुन्छ,’ महतले भने ।
प्रतिक्रिया 4