+
+

पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रसारणमा भयो सम्झौता

पश्चिम सेती परियोजनाको लागत २० अर्ब रुपैयाँबराबर छ । यो करिडोरमा १ हजार ८ सय मेगावाट बिजुली जोडिने छ । यो ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १९:३१

३१ वैशाख, काठमाडौं । भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच ग्रिड कनेक्सन सम्झौता भएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो ।

सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

एनएचपीसीले कर्णाली करिडोरमा ७ सय ५० मेगावाटको पश्चिम सेतीसहित १ हजार ६ सय ८० मेगावाट क्षमताका आयोजना बनाउँदै छ । अब प्रसारण गिञ्ड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ ।

सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ ।

प्रसारण ग्रीड कम्पनी नेपाल सरकारको लगानी भएको कम्पनी हो भने एनएचपीसी भारत सरकारकाे लगानीको कम्पनी हो ।

सेती करिडोर परियोजनाको लागत २० अर्ब रुपैयाँबराबर छ । आयोजनाको वित्तीय व्यवस्थापनका लागि भारतको एक्जिम बैंकबाट ऋण लिने प्रयास भइरहेको ज्ञवालीले जानकारी दिए ।

यो करिडोरमा १ हजार ८ सय मेगावाट बिजुली जोडिने छ । यो ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन हो ।

यो सम्झौताले एनएचपीसीलाई प्रसारण लाइन प्रयोगको सुनिश्चितता भएको र ग्रिड कम्पनीलाई पनि आफूले बनाउने आयोजना उपयोगको सुनिश्चितता भएको सीईओ ज्ञवालीले बताए ।

सम्झौतापत्र आदानप्रदान कार्यक्रममा एनएचपीसीले नेपालमा गरिरहेको आयोजनाहरुका बारेमा कम्पनीका नेपाल प्रमुख सन्दीप मित्तलले जानकारी गराएका थिए ।

पश्चिम सेती परियोजना विद्युत् प्रसारणका लागि महत्वपूर्ण भएको ऊर्जा मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले बताए । प्रसारण लाइनको सुनिश्चितताले पश्चिम सेतीको लागत पनि कम हुने उनले बताए ।‌

सेती करिडोर प्रसारण लाइन सेती नदी बेसिनमा पहिचान भई निर्माणका विभिन्न चरणमा रहेका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न निर्माणाधीन आयोजना हो ।

बझाङको प्रस्तावित चैनपुर सबस्टेसनबाट डोटी पश्चिम सेती सबस्टेसन (६० किलोमिटर), पश्चिम सेती सबस्टेसन हुँदै कैलाली दोदोधारा सबस्टेसनसम्म (८५ किलोमिटर) तथा पश्चिम सेती सबस्टेसनदेखि कञ्चनपुर दैजीस्थित न्यु–अत्तरिया सबस्टेसनसम्म (६८ किलोमिटर) ४०० केभीको करिब २ सय १३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने लक्ष्य परियोजनाको रहेको आयोजना प्रमुख राजकिरण बासुकलाले जानकारी दिए ।

यस प्रसारण लाइनअन्तर्गत बझाङ जयपृथ्वी नगरपालिका–१ स्थित कैलाशमा चैनपुर सबस्टेसन र डोटी शिखर नगरपालिका– १० स्थित बनलेकमा पश्चिम सेती सबस्टेसन निर्माण हुनेछन् ।

आयोजना अन्तर्गत निर्माण हुने चैनपुर सबस्टेसनमा चैनपुर सेती जलविद्युत् आयोजना (२ सय १० मेगावाट), बझाङ अप्पर सेती जलविद्युत् आयोजना (२ सय १६ मेगावाट), सेती नदी–३ जलविद्युत् आयोजना (८६ मेगावाट), सुनिगाढ जलविद्युत् आयोजना (२५ मेगावाट), सनस्टार जलविद्युत् आयोजना (४६ मेगावाट), बडीमालिका जलविद्युत् आयोजना (६० मेगावाट), न्यादी जलविद्युत् आयोजना (६० मेगावाट) र मालुमेला–सेती नदी पिआरओआर जलविद्युत् आयोजना (६४ मेगावाट) तथा पश्चिम सेती सबस्टेसनमा पश्चिम सेती जलविद्युत् आयोजना (७ सय ५० मेगावाट) र बलान्च हबमा (३ सय मेगावाट) विद्युत् उत्पादन जम्मा भई कैलाली दोदोधारामा निर्माण हुने सबस्टेसनमा कुल १ हजार ८ सय २७ मेगावाट प्राप्त गर्ने योजना छ ।

चैनपुर सबस्टेसन, कैलाश, जयपृथ्वी नगरपालिका–१

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले बझाङ जयपृथ्वी नगरपालिका–१ स्थित कैलाशमा प्रस्तावित चैनपुर सबस्टेसन निर्माणका लागि कुल १ लाख ४३ हजार ७ सय २० वर्गमिटर (२ सय ८२ रोपानी ८ आना ३ दाम) जग्गा अधिग्रहण गरेको छ ।

पश्चिम सेती सबस्टेसन, बनलेक, शिखर नगरपालिका–१०

ग्रिड कम्पनीले डोटी शिखर नगरपालिका–१० स्थित बनलेकमा प्रस्तावित पश्चिम सेती सबस्टेसन निर्माणका लागि कुल  ७० हजार ४ सय २५ वर्गमिटर (१ सय ३८ रोपनी ६ आना ३ पैसा २ दाम) जग्गा अधिग्रहण गरेको छ ।

आयोजनाको हालसम्मको प्रगति विवरण

पश्चिम सेती प्रसारण लाइन आयोजना अन्तर्गत रहेका तीन प्रसारण लाइन अध्ययनबाट हालसम्म प्राप्त प्रगति विवरण यस्तो छ :

बझाङ–पश्चिम सेती प्रसारण लाइन

६० किलोमिटर लम्बाइ र इन्जिनियरिङ डिजाइन सम्पन्न भइसकेको छ भने प्रारम्भिक  वातावरण अध्ययन अन्तिम चरणमा छ ।

पश्चिम सेती–दोदोधारा प्रसारण लाइन

८५ किलोमिटर लम्बाइ र इन्जिनियरिङ डिजाइन सम्पन्न भइसकेको छ भने प्रारम्भिक वातावरण अध्ययन अन्तिम चरणमा छ ।

पश्चिम सेती दैजी प्रसारण लाइन

६८ किलोमिटर लम्बाइ र इन्जिनियरिङ डिजाइन सम्पन्न भइसकेको छ भने प्रारम्भिक वातावरण अध्ययन अन्तिम चरणमा छ ।

चैनपुर सबस्टेसन

इन्जिनियरिङ डिजाइन र प्रारम्भिक वातावरण अध्ययन अन्तिम चरणमा छ ।

पश्चिम सेती सबस्टेसन, डोटी

इन्जिनियरिङ डिजाइन र प्रारम्भिक वातावरण अध्ययन अन्तिम चरणमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म अध्ययन सकेर कम्पनीको योजना तालिका अनुसार २०८१/८२ मा निर्माण ठेक्कामा जाने र २०८८/८९ सम्ममा निर्माण सक्ने लक्ष्य रहेको आयोजना प्रमुख बासुकलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?