+
+

संसदमा राष्ट्रपति सवारीको रिहर्सलमा जे देखियो

आर्यन धिमाल आर्यन धिमाल
२०८१ जेठ १ गते १३:१४

१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुग्ने तोकिएको समय मंगलबार अपराह्न तीन बजे हो, तर उनकै शैलीमा बिहानै अर्का एक युवक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा देखापरे ।

ती युवक राष्ट्रपतिको सवारीकै शैलीमा संसद भवन छिरे । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई पुष्पगुच्छाले भव्य स्वागत गरे ।

ती युवकका लागि रातो कार्पेट बिच्छ्याइएको थियो । उनले संसद भवन पुगे लगत्तै नेपाली सेनाको सलामी पनि खाए । त्यसपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सदनको बैठक बस्ने कार्यकक्षमा लगे ।

रोष्ट्रममा उनी उभिँदा सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत सुरक्षा अधिकारीहरु पनि उभिए ।

केहीबेरमा युवक निस्किए ।

यो मंगलबार नै हुने राष्ट्रपति रामचन्द्र पौडेलको संसदमा हुने सवारीको रिहर्सल हो ।

दौरा सुरुवाल लगाएर राष्ट्रपतिको सवारीको रुपमा संसद भवन छिर्ने ती युवक हुन– ‘डमी राष्ट्रपति’, जो राष्ट्रपति पौडेलकै सुरक्षार्थ खटिएका नेपाली सेनाका अधिकृत हुन् ।

संघीय संसद सचिवालय प्रवक्ता एकराम गिरीका अनुसार २०७२ साल आसपासबाट संसदमा राष्ट्रपति जाने दिन सवारी व्यवस्था र स्वागतको तयारीस्वरुप रिहर्सल हुने गरेको छ । उनी भन्छन्, ‘राष्ट्रपतिको उपस्थितिमा हुने र गरिने कार्यमा कुनै त्रुटि नहोस् भनेर व्यवस्थापन अन्तर्गत यस्तो कार्य गर्ने गरिन्छ ।’

राष्ट्रपति पौडेल मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि संसद भवन पुग्दैछन् ।

सरकारको नीति तथा कार्यक्रम पेस गर्न वर्षमा एकपटक राष्ट्रपति संसद भवन पुग्ने गर्दछन् । यसका अलावा प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशनको पहिलो संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ ।

संसद सचिवालयका प्रवक्ता गिरी आवश्यकता अनुसार अन्य समयमा समेत राष्ट्रपति संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्न जान सक्ने बताउँछन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित हुनु अगाडि राष्ट्रप्रमुखको रुपमा राजा थिए । राजतन्त्रात्मक शासन व्यवस्थामा पनि राजाले नै संसदमा नीति तथा कार्यक्रम पेस गर्दथे ।

संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार राजा संसद भवन जाने दिन त्यसबेला पनि राजाको सवारीको रिहर्सल हुने गर्दथ्यो । उनी भन्छन्, ‘डमी राजाका रुपमा राजाको सवारीको रिहर्सल हुन्थ्यो । त्यो पनि आर्मीले नै गर्दथे ।’

राजतन्त्रात्मक शासन व्यवस्थामा राजा संसद भवनमा जाँदा जे जस्तो तयारी र सम्मान हुने गर्दथ्यो त्यस्तै पूर्वतयारी, सम्मान र सवारीको रिहर्सल गणतन्त्रात्मक शासन व्यवस्थामा राष्ट्रपतिको हुने गर्दछ । यो कामा भने राजतन्त्र र गणतन्त्रात्मक दुवै व्यवस्थामा नेपाली सेना संलग्न हुने गर्छ ।

संसद भवनभित्रको दृश्य पनि राजा र राष्ट्रपतिका सन्दर्भमा उस्तै देखिन्छन् ।

संसद सचिवालयका पूर्वसचिव थापा सम्झन्छन्, ‘राजतन्त्रमा राजा संसद भवनमा आउँथे । आर्मीले सुरक्षा हेर्थे । राजा संसद भवनभित्र प्रवेश गरिसकेपछि सभामुखले कुर्सी देखाउँथे । राजालाई सम्बोधनको कपी दिइन्थ्यो, राजा सम्बोधन गरिसकेपछि निस्कन्थे ।’

गणतन्त्रात्मक शासन व्यवस्थामा पनि यस्तै अभ्यास हुन्छ । केवल राजाको ठाउँमा राष्ट्रपति देखिन्छन् । तर, राजतन्त्रात्मक शासन व्यवस्थामा एकै व्यक्तिले धेरै नीति तथा कार्यक्रम बाचन गर्दर्थे ।

गणतन्त्रमा राष्ट्रप्रमुख राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ । दुई कार्यकालसम्म निर्वाचित हुन पाउने भएकाले १० वर्षसम्म पनि एकै व्यक्ति राष्ट्रप्रमुख हुन सक्छन् ।

राजतन्त्रात्मक शासन व्यवस्थामा राजाले सम्बोधन गरेर बिदा भइसकेपछि संसदले धन्यबाद प्रस्ताव पारित गर्दथ्यो । हिजोआज पनि सम्बोधनपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने गरिन्छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?