+
+
प्रशासन :

प्रधानमन्त्री कार्यालयका दुई सहसचिव किन भए परराष्ट्रमा सरुवा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १४:०९
सहसचिवहरु नारायण भट्ट र नवराज ढुंगाना ।

१ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका २ शक्तिशाली सहसचिवहरु परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् । पराराष्ट्र मन्त्रालय अन्तरगतका आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्ति दिलाउन नवराज ढुंगाना र नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।

२७ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रशासन महाशाखा हेर्ने सहसचिव नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालय अन्तरगत सरुवा गरिएको हो । त्यस्तै प्रधानमन्त्री कार्यालय अन्तरगतको राजस्व अनुसन्धान विभागका महानिर्देशक रहेका नवराज ढुंगानालाई पनि परराष्ट्रमा सरुवा गरिएको छ ।

आकर्षक र बढी लाभको पद मानिने महावाणिज्यदूत पदमा नियुक्तिका लागि उनीहरुलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।

लामो समयदेखि प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता समेत रहेका भट्टलाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गर्ने तयारी छ । उनी निजामती सेवाभित्रका चतुर प्रशासकका रुपमा परिचित छन् ।

ढुंगानालाई भारतको कोलकातास्थित महावाणिज्यदूत नियुक्त गर्ने तयारी अनुरुप परराष्ट्रमा सरुवा भएको हो । २०७९को भदौदेखि पुससम्म वीरगञ्ज भन्सार कार्यालयको प्रमुख रहेका ढुंगाना त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव समेत थिए । १२ असार २०८०मा उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त भएर काम गरिरहेका थिए ।

हाल कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज  पौडेल १ साउनअघि नै काठमाडौं फर्किने तय छ । तर, त्यसअघि नै  पौडेललाई फिर्ता बोलाएर ढुंगानालाई पठाउने गृहकार्य छ ।

स्रोतका अनुसार यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ समेत रहेका माओवादी नेता जीवन आचार्यको जोडबलमा सुरेश राउतलाई चीनको छेन्दुमा महावाणिज्यदूतका रुपमा नियुक्त गरिएको थियो । राउत आचार्य कोशी प्रदेशको आर्थिक मामिलामन्त्री हुँदा राउतलाई प्रदेश सचिवका रुपमा थिए ।

प्रधानमन्त्री कार्यालयमै रहेका अर्का एक शक्तिशाली सहसचिवलाई निकट भविष्यमा नै अमेरिकाको राष्ट्रसंघीय स्थायी नियोगमा इकोनोमिक कन्सुलरको अस्थायी दरबन्दी सिर्जना गरेर पठाउने गृहकार्य समेत भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । यसअघि हालका अर्थसचिव मधुकमार मरासिनी पनि यसैगरी अमेरिका पुगेका थिए ।

विशेषज्ञ कर्मचारीहरू पुग्नुपर्ने यस्ता पदहरूमा राजनीतिक पहुँचका भरमा जोसुकै  कर्मचारीले महावाणिज्यदूतको नियुक्ति पाउने प्रवृत्ति बढ्दै गएको छ । यसले नेपालको वाणिज्य कूटनीति झन्-झन् कमजोर बन्दै गएको अधिकारीरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?