+
+

एमाले तनहुँमा खगराज पक्षका कँडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते ६:५८

२ जेठ, तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए । जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ ।

जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे ।

सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।

सहमति नजुट्दा मध्यरातमा मतदान

एमाले राजनीतिमा गण्डकी प्रदेशभित्र नेकपा एमालेका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको प्रतिष्ठाको लडाइँ चल्दै आएको छ । दुवै नेताहरुको गुटबन्दीले तनहुँमा एमालेको नेतृत्व चयन सर्वसम्मत हुन सकेन र आइतबार राति मतदान गरिएको थियो ।

अघिल्लो पटक खगराज समूहका श्रीप्रसाद श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाइएको थियो । तर १०औं जिल्ला अधिवेशनसम्म आइपुग्दा भने दुवै पक्ष सहमतिमा पुग्न टसमस भएनन् । जसले गर्दा मध्यरातमा मतदान गर्नुपरेको थियो । मतदान सोमबार बिहानसम्म चलेको थियो ।

यद्यपि, नेतृत्व निर्माणमा समूह विभाजन भएकाले त्यसलाई गुटबन्दी भन्न नमिल्ने पूर्वअध्यक्ष केदार सिग्देल दाबी गर्छन् । ‘हाम्रो पार्टीमा कार्यकर्ता धेरै हुनुहुन्छ । पद संख्या भने थोरै छ । सर्वसम्मत नहुँदा समूह मिलाएर निर्वाचनमा जानुलाई गुटबन्दी भन्न मिल्दैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?