+
+

रिडी–तम्घास बाटो ४३ वर्षपछि विस्तार हुँदै, स्थानीय हर्षित 

अनिल खत्री अनिल खत्री
२०८१ जेठ २ गते ७:३८

२ जेठ, गुल्मी । गुल्मीको रिडी–तम्घास सडक टर्याक खोलेको ४३ वषपछि स्तरोन्नति हुन लागेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीखण्डको रिडी–तम्घास सडकको २५ किलोमिटर क्षेत्र विस्तार भइरहेको हो ।

उक्त राजमार्ग स्तरोन्नति गर्ने जिम्मा समानान्तर इलाइट जेभीले पाएको छ । हालसम्म राजमार्गको ७० प्रतिशत सडकको कटिङको काम सकिएकोे ठेकेदार कम्पनीका इन्जिनियर राकेशकुमार पासवानले बताए । राजमार्गमा टाइमकार्ड लागू गरेरै भए पनि स्तरोन्नतिको कामलाई तीव्रता दिइएको निर्माण पक्षले जनाएको छ ।

सडक अहिले दिउँसोको समय १० बजेदेखि ४ बजेसम्म नियमित रुपमा बन्द गरेर काम हुँदै आएको छ । ४ दशकसम्म स्तरोन्नति नहुँदा सडक साँघुरो थियो भने ठाउँठाउँमा कालोपत्रे पनि भत्किँदै जान थालेको थियो र गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारी साधनको चाप पनि उत्तिकै हुने गर्दछ ।

२०७९ फागुन २८ मा सडक स्तरोन्नतिका लागि सम्झौता भएको ठेकेदार कम्पनीले ८२ फागुन मसान्तसम्म काम सक्नुपर्नेछ । १ अर्ब ५० करोड ४८ लाख रुपैयाँ लागतमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने सम्झौता भएको छ ।

वैशाखको अन्तिमसम्म सडकको ३५ प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत वित्तीय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ । रिडीदेखि बलेटक्सारसम्म १३ किलोमिटर क्षेत्रमा सबै काम सकेर वर्षात् अगावै ग्राभेल गरिसक्ने इन्जिनियर राकेशकुमार पासवानले बताए ।

सडक विस्तारका क्रममा बलेटक्सार, श्रृंगा, लुम्छा, वीरवासलगायतका ठाउँका केही घरसमेत हटाइने आयोजनाले जनाएको छ । लामो समयपछि हुन लागेको सडक स्तरोन्नतिले भने स्थानीय हर्षित छन् । सडक विस्तार भएसँगै साँघुरो सडकमा जोखिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने उनीहरुको विश्वास छ ।

मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी, पुर्कोट हुँदै प्युठान जोडिएको छ ।  सदरमुकाम तम्घाससम्म रिडीलाई जोड्न २०३८ सालमा स्थानीयहरु मिलेर ट्रयाक खोलेका थिए । उक्त बाटोमा पहिलो पटक ट्याक्टर गुडेको थियो ।

तत्कालीन समयमा गुल्मेलीहरु बाटो खन्नका लागि पाल्पासम्म पुगेको रुरुक्षेत्र गाउँपालिका–४ का ७५ वर्षीय कृष्णप्रसाद ज्ञवाली सम्झन्छन् । ‘पाल्पा हुँदै रिडी–तम्घाससम्म मान्छेले खनेरै यो बाटो ल्याएका थियौं । त्यतिबेला बाटो खन्ने क्रममा विभिन्न ठाउँबाट बाजागाजासहित काम गर्थ्यौं’, उनले भने ।

सुरुआतमा ट्याक्टर हिँड्नका लागि मात्रै बाटो खनिएको स्थानीय बताउँछन् । पछि २०६० सालमा केही सामान्य विस्तार गरेर सडक कालापत्रे गरिएको थियो । राजमार्गको तम्घास सिमलटारी २९ किलोमिटर ४ वर्ष पहिले कालोपत्रे भएको थियो ।

सिमलटारी सौतामारे–मच्छी सडकखण्ड सुस्त गतिमा

सिमलटारी सौतामारे–मच्छी–सडक पनि कालोपत्रे भइरहेको छ । सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । तर, उक्त सडकखण्डको विस्तार सुस्त गतिमा छ ।

मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्ड स्तरोन्नतिको जिम्मा श्रेष्ठ सक्षम जेभी काठमाडौंले पाएको छ । सडक विस्तारका लागि १ अर्ब ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको ठेक्का सम्झौता भएको छ । ०७९ कात्तिक ६ गते सम्झौता भएको सडकको ०८२ साल साउन ५ गतेसम्मको म्याद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?