+
+

परीक्षा लिम्बू भन्छिन्- चरित्रमा न्याय दिन निर्देशकसँग कलाकार डराउनु पनि पर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १७:५२

काठमाडौं । अभिनेत्री परीक्षा लिम्बू फिल्म ‘जारी’ र ‘छक्कापञ्जा ४’ मा सहायक भूमिकामा देखिइन् । ‘पुजार सार्की’ उनको तेस्रो फिचर फिल्म हो । जेठ १० गतेदेखि प्रदर्शन हुने फिल्ममा उनी गौमायाको रोलमा देखिंदैछिन् ।

अडिसनबाट छनोट भएकी उनी ‘पुजार सार्की’ करिअरको महत्वपूर्ण फिल्म रहेको बताउँछिन् । यसबाट आफूले समाज र भोगाइ बुझेको उनको भनाइ छ । फिल्मको आञ्चलिकता कास्कीको कास्कीकोट भएपनि उनी परिन् पूर्वेली ।

स्थानीय लवज टिप्न मुस्किल परेपछि उनलाई भाषाको अभ्यास गराइयो । अभ्यासमा लवजमा सुधार आएपछि उनी फिल्ममा फाइनल भइन् । फिल्ममा उनले मैते (प्रदीप खड्का)को ‘लभ इन्ट्रेस्ट’को रोलमा अभिनय गरेकी छन् ।

‘मैले प्रदीपजीबाट धेरै कुरा सिकें । उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ,’ परीक्षाले भनिन् ।

फिल्ममा प्रदीप मात्र होइन, आर्यन सिग्देल र पल शाहको काम गर्ने शैलीबारे उनलाई चासो रहेछ । ‘उहाँहरूले कसरी काम गर्नुहुन्छ, मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो । तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो । उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो,’ उनले भनिन् ।

फिल्ममा मैतबहादुरसँग गौमाया पात्रको अन्तरजातीय प्रेमको कथा बुनिएको छ । पात्रको जीवन बाँच्दा आफूले अन्तरजातीय प्रेम कठिन हुने महसुस गरेको उनको भनाइ छ ।

‘फिल्ममा म मगर समुदायको पात्रको प्रतिनिधित्व गर्छु । हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ । त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेलाई गाह्रो हुन्छ,’ उनले भनिन्, ‘प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ ।’

परीक्षा पूर्वकी, भाषा गण्डकी प्रदेशको । पात्र निर्माणमा उनले निकै मेहनत गर्नुपर्‍यो । परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ ।

‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरें, किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु । मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो र म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले भनिन् ।

अभिनयको अनुभवलाई उनी ‘भोक’सँग तुलना गर्छिन् । ‘भोक लागेको बेला जे खाए पनि मीठो । मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो । तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मीठो खाने कुरा खान पाए जस्तै भयो,’ परीक्षा भन्छिन्, ‘जारी र छक्कापञ्जामा धेरै कुरा सिक्न पाएँ । पुजार सार्कीमा भने ती सिकेका कुरा लागू गर्ने कोसिस गरेकी छु । तीनवटै फिल्मको हकमा राम्रो ब्यानर, राम्रो ब्रान्ड, राम्रो टिमसँग काम गर्ने मौका पाएँ ।’

राम्रो फिल्म बन्न कलाकार र निर्देशकको ट्युनिङ मिल्नुपर्छ । परीक्षाको अनुभवमा निर्देशकसँग कलाकार केही डराउनु नै पर्छ । ‘आफूले निर्वाह गरेको चरित्रले न्याय दिन सक्यो सकेन वा निर्देशकको भिजन अनुसार चल्न सकियो या सकिएन भनेर केही डराउनु पनि पर्छ,’ परीक्षा भन्छिन्, ‘निर्देशक दिनेश दाइ (निर्देशक दिनेश राउत)को हकमा मलाई त्यही नै भयो ।’

उनी अगाडि भन्छिन्, ‘अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?