+
+

नेपालमा ‘एभरेस्ट’ र ‘एमडीएच’ मसला प्रतिबन्धित

भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ जेठ ३ गते १९:१४

३ जेठ, काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ ।

भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो ।

‘नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका मसला पाउडर र एमडीएच ब्रान्डका तीन थरी मसला आयात रोकेका छौं । स्वास्थ्यमा हानिकारक हुने रसायन भेटिएको खबरपछि हामीले एक सातादेखि आयात रोकेका छौं,’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अनलाइखबरसँग भने, ‘अब बजारमा पनि उक्त ब्रान्ड मसला बिक्री वितरणमा रोक लगाइसकेका छौं ।’

उनले नेपालमा भएका उक्त ब्रान्डका मसला परीक्षण गर्न सुरु गरेको भन्दै प्रतिवेदन नआएसम्म बजारमा बिक्री खुला नगर्ने बताए ।

‘हङकङ र सिंगापुरमा पनि उक्त ब्रान्डका मसला अखाद्य भइसकेकाले अब नेपालमा पनि प्रतिवेदन नआएसम्म जोखिम नलिने बताए ।

‘नेपालमा आफ्नै मसला उद्योगहरू पनि धेरै छन्, भारतीय ब्रान्डका मसला पनि आउने गरेका छन् । यी दुइटा ब्रान्डका मसला वार्षिक कति आयात हुन्छ भन्ने तथ्यांक एकीकृत रूपमा हेरेर मात्रै भन्न सकिन्छ,’ महर्जनले भने ।

आयात अनुमतिविना पनि सीमाबाट उक्त ब्रान्डका मसला आए खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले हेरेर रोक्ने उनले बताए ।

भारतमा उत्पादन हुने एभरेस्ट र एमडीएच ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड भेटिएको हङकङको खाद्य सुरक्षा विभागले दाबी गरेको बीबीसीले जनाएको थियो ।

त्यहाँ अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न भनिएको छ । यस्तै सिंगापुरमा एभरेस्ट ब्रान्डको ‘फिस करी मसला’ बजारबाट फिर्ता ल्याउन निर्देशन दिइएको छ ।

हङकङको सेन्टर फर फुड सेफ्टीले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड पाउडर र करी पाउडर मिक्स्ड मसलामा कीटनाशक एथिलिन अक्साइड पाएको छ । साथै, उसले उक्त मसला प्रयोग नगर्न सर्वसाधारणलाई सूचित गराएको छ ।

हङकङको फुड सेफ्टी विभागले खाद्य पदार्थमा कीटनाशक अवशेष नियमलाई आधार बनाउँदै भनेको छ, ‘यी खानेकुरा मानव स्वास्थ्यका लागि हानिकारक नभएमात्र बिक्री गर्न पाइने छ ।’

सिंगापुरले वैशाख दोस्रो सातामै देशको फुड एजेन्सीलाई एथिलिन अक्साइड पाइने एभरेस्टको फिस करी मसला बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको थियो ।

एथिलिन अक्साइडले के गर्छ ?

एथिलिन अक्साइड एक रङहीन र ज्वलनशील ग्यास हो । यसको प्रयोग खासगरी कृषि, स्वास्थ्य र खाद्य प्रशोधनमा कीटनाशकका लागि प्रयोग गरिन्छ । खानालाई ब्याक्टेरिया, कीराबाट जोगाउन एथिलिन अक्साइड प्रयोग गरिन्छ ।

कतिपय स्वास्थ्य संगठनले कार्सिनोजेनले क्यान्सरको खतरा गराउन सक्ने बताएको छ । एथिलिन अक्साइडको जोखिम हेरेर कतिपय देशको खाद्य नियमले खाद्य पदार्थमा यसको प्रयोगबारे कडा नियम बनाएका छन् । ती देशमा एथिलिन अक्साइडको मात्रा निर्धारित गर्न कडा कानुन छ ।

सिंगापुरको फुड एजेन्सीले थोरै मात्रामा एथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने बताएको छ । तर, लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?