४ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक फुस्रो सारौं प्रजातिको चरा फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् संघले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङ लोमान्थाङ स्थित ३ हजार ८ सय ४० मिटर उचाइमा नयाँ चरा फेला परेको संघले जनाएको छ ।
नेपालका चराविद् शंकर तिवारीले उक्त क्षेत्रमा विदेशी पाहुनासँगै चरा अवलोकन गर्दा २५ वैशाख बिहान ८ः४९ बजे नयाँ चरा देखेका थिए । त्यसपछि तिवारीले उक्त चराको तस्वीर खिचेर आफ्नो तर्फबाट प्रारम्भिक पहिचान गरे पनि यकिन हुन बाँकी थियो ।
संघका अनुसार ३१ वैशाखमा सो चराको यकिन पुष्ट्याइँका लागि नेपाल बर्ड कमिटी (एनबीआरसी) मा विवरण सहित चराको तस्वीर पठाइएको थियो । त्यसपछि नेपालमा भएका चराहरूको सूची र पन्छीविदहरूको छलफलपछि नयाँ चरा भेटिएका शुक्रबार पुष्टि भएकोे तिवारीले बताए ।
‘नेपालमा सायद पाहुना भएर आएको हुनाले पहिलो पटक देखियो, लोमान्थाङको पनि दुर्गम क्षेत्रमा उक्त चरा देखेको थिएँ,’ तिवारीले अनलाइनखबरसँग भने, ‘म चराकै खोजीमा जाँदा भेटियो, यसलाई उपलब्धिका रूपमा लिएको छु ।’
तिवारीले पत्ता लगाएको चराको अंग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टर्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासस,’ हो भने ‘प्यासेरीफम्र्स’ वर्गको ‘स्टुरीडेई’ परिवारमा पर्ने यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवासीय रूपमा पाइन्छ भने लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते रूपमा रेकर्ड भएको छ ।
‘नेपालको अभिलेखमा चरा प्रजातिको संख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको संख्या ८ सय ९५ पुगेको छ,’ पन्छीविद् संघले भनेको छ ।
संघका अनुसार नेपालबाट सबैभन्दा नजिक मध्यचीनका विभिन्न ठाउँमा यो चरा पाइन्छ र यसले त्यहाँ प्रजनन पनि गर्छ । जाडो याममा यिनीहरू नियमित रूपमा दक्षिणतिर बसाइँ सर्छन् र दक्षिणपूर्वी चीन र ताइवानमा जाडो बिताउँछन् ।
लोमान्थाङमा रेकर्ड गरिएको ह्वाइट चिक्ड स्टर्लिङ प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्ते रूपमा आइपुगेको अनुमान संघको छ ।
तस्वीर : शंकर तिवारी
प्रतिक्रिया 4