+
+

पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा सपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते २०:१६

काठमाडौँ । नेपालमा सेवा थाल्नुअघि १० जना अमेरिकी पिस कोर स्वयंसेवकले सपथ ग्रहण गरेका छन् । शुक्रबार आयोजित समारोहमा पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट, अमेरिकी राजदूत डीनआर थम्पसन र पिस कोरका नेपाल निर्देशक ट्रोइ कफ्रथले सपथ दिलाए ।

नेपालमा सेवा गर्ने यो अहिलेसम्मको पहिलो रेस्पोन्स स्वयंसेवक समूह रहेको दूतावासले जनाएको छ । पिस कोर रेस्पोन्स कार्यक्रमले नेपाल सरकारद्वारा पहिचान गरिएका अल्पकालीन अवधिका सेवा कार्य सम्पन्न गर्न अनुभव हासिल गरेका अमेरिकी नागरिक स्वयंसेवक भित्राउँछ ।

यी नयाँ रेस्पोन्स स्वयंसेवकले कृषि, पर्यटन र ई-सिकाईको क्षेत्रमा कार्य गर्ने जनाइएको छ । गण्डकी प्रदेशमा ग्रामीण पर्यटनको प्रवर्धन गर्ने, बागमती र गण्डकी प्रदेशमा सरकारी विद्यालयका सूचना प्रविधि तथा ई-सिकाइका पहलमा टेवा पुर्‍याउने जनाइएको छ ।

गण्डकी तथा लुम्बिनी प्रदेशमा कृषि कलेजका शोधसम्बन्धी क्रियाकलापमा सुधार ल्याउने, ज्ञान आदानप्रदानलाई बढवा दिने र दिगो प्रभाव पार्ने परियोजनामा विभिन्न संस्था र सामुदायिक सदस्यसँग सहकार्य पनि गर्नेछन् ।

‘यो पिस कोर रेस्पोन्स कार्यक्रमको सुरुवात हो जुन कार्यक्रमअन्तर्गत अनुभवी अमेरिकी नागरिक स्वयंसेवकले नेपाल सरकारमा रहेका हाम्रा साझेदारद्वारा अभिव्यक्त निश्चित आवश्यकतालाई सम्बोधन गर्नेछन्’ कार्यक्रममा राजदूत थम्पसनले भने ।

परम्परागत दुई-वर्षीय स्वयंसेवक कार्यक्रममा जस्तै, पिस कोर रेस्पोन्स स्वयंसेवक पनि समुदायसँग घुलमिल हुनु, सम्बन्ध निर्माण गर्नु र नेपालमा अनुकरणीय अमेरिकी प्रतिनिधि बन्नु आवश्यक रहेको समेत उनले बताए ।

यी दश रेस्पोन्स स्वयंसेवक सन् १९६२ मा नेपाल र अमेरिकी सरकारले नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरेयता सेवा गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकको संख्यामा जोडिनेछन् ।

यो नयाँ समूहसँगै, अहिले नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकको कुल संख्या ५० पुगेको छ ।

पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, सामुदायिक सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीको अन्तर्राष्ट्रिय सेवा सञ्जाल रहेको दूतावासले जनाएको छ ।

विश्वभरका सरकारको निमन्त्रणामा पिस कोर स्वयंसेवक शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता प्राप्त परियोजनामा समुदायका सदस्यसँगै काम गर्दछन् ।

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोनएफ केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीले विश्वभर १४४ वटा मुलुकमा सेवा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?