+
+
गौशालामा महानगरको डोजर :

‘घरबेटीले मिच्ने, हामीलाई सजाय ?’

विकास रोकामगर विकास रोकामगर
२०८१ जेठ ६ गते २०:३०

६ जेठ, काठमाडौं । रामेछापका श्यामबहादुर खड्काले काठमाडौंको गौशाला चोकमै ‘व्यञ्जन मिष्ठान्न भण्डार’ चलाउन थालेको ५ वर्ष हुन लाग्यो । पहिले कपडा व्यापार गर्दै आएका उनले पछिल्लो समय मिठाइ पसलमा हात हालेका थिए ।

नयाँ व्यापारको सुरुमा कोभिड महामारीले इन्तु न चिन्तु बनायो । अहिले भने लयमा फर्किंदै थियो । गौशाला चौकमै रहेको एउटा घरमा २ वटा तला भाडामा लिएर व्यापार गरिरहेको मिष्ठान्न पसलमा उनीसहित १२ जना कर्मचारी थिए । उनका अनुसार अहिलेसम्म करिब ३ करोड लगानी भइसकेको छ ।

श्यामबहादुर खड्का ।

आइतबार बिहान अरु दिनझै सबेरै उठेर दिनभरका लागि चाहिने मिठाई बनाएका थिए । सटर खोलेर मिठाइहरु मिलाउँदै थिए । त्यहीबेला एउटा डोजर गड्याङगुडुङ गर्दै आयो । खड्काको पसल भएको घरमा पनि डोजर चल्न थाल्यो ।

‘एक्कासि भड्यामभुडुम हानेर भत्काइदियो’ छत्ताछुल्ल भएका आफ्ना सामान देखाउँदै खड्काले दुःख पोखे, ‘यत्रो सामान भत्कियो, यो कसलाई सुनाउने ?’

डोजर चलेको त घरबेटीको घरमा थियो । तर लाखौंको क्षति व्यवसायी खड्काले व्यहोर्नुपर्‍यो । खड्काका अनुसार घरवेटीलाई भाडामात्रै मासिक ३ लाख रुपैयाँ बुझाउँदै आएका थिए । महानगरलाई पनि नियमित कर तिर्दै आएका थिए ।

महानगर वा घरबेटीले समयमै सूचना मात्र दिएको भएपनि विकल्प खोज्न हुन्थ्यो । ‘घरबेटीले पनि केही भनेन, नगरपालिकाले पनि केही भनेन । एक्कासि आएर पसलमा डोजर हान्दियो’ खड्काले गुनासो पोखे, ‘घरबेटीले मिच्ने, हामीलाई सजाय ! केही दिन दिएको भए सामान सार्न हुन्थ्यो, कतै ठाउँ खोज्न हुन्थ्यो ।’

खड्काकै छेउमा मिठाइ पसल गर्दै आएका कन्हैया गुप्ता पनि महानगरले डोजर लगाएर लथालिंग बनाएको सामान कता ठेगान लगाउने चिन्तामा देखिए ।

कन्हैया गुप्ता ।

करोड हारहारी लगानी गरेर खोलेको अन्नपूर्णा मिठाइ पसलमा १५ जनाले रोजगारी पाएका थिए । ऋण लिएर पसलको स्तरोन्नति गरेको केही समयपछि डोजर चलेकाले गुप्ता चिन्तित छन् । ‘मिटर ब्याजमा ऋण लिएको थियो । त्यो कसरी तिर्ने, काम गर्नेहरुलाई पैसा दिने कि अर्को ठाउँ खोज्दै हिँड्ने ?’ उनले भने ।

गुप्ताका अनुसार आफूले मिठाइ पसल चलाइरहेको घरमा महानगरले डोजर चलाउनसक्छ भनेर ३ दिनअघि सुनेका थिए । ‘अब त्यो ३ मा कसरी ठाउँ सर्न मिल्छ ?’ गुप्ताले भने, ‘अलि धेरै टाइम पनि दिँदैन । अब कहाँ जाने ?’

खड्का र गुप्ताको पसलभन्दा केही तल २ वटा सानो टहरोमा किराना पसल चलाउँदै आएका गोपीकृष्ण बडालले पनि महानगरले समय नै नदिएको गुनासो गरे ।

पसलको सटरमात्रै फाल्छौं भनेर भित्र रहेका सबै सामानमा क्षति पुर्‍याएको उनको गुनासो थियो ।

झन्डै २ दशकदेखि त्यही ठाउँमा ‘आकांक्षा किराना पसल’ चलाउँदै आएका उनले ‘अघिल्लो वर्षमात्रै ३ लाख रुपैयाँ थपेर पसलको डेकोरेसन चेन्ज गरेको थिए ।

शनिबार महानगरले घर भत्काउँदैछ भन्ने थाहा पाए । ‘पहिले पनि २/३ भत्काउँछु भन्दै आउँथ्यो । माइकिङ गर्थ्यो , सूचना टाँस्थ्यो, सकिन्थ्यो । यसपालि पनि विश्वास लागको थिएन’, बडालले भने, ‘एक्कासि आएर डोजर चलाउनुभन्दा २/३ घन्टा टाइम दिएको भए सामान त सुरक्षित गर्न सकिन्थ्यो नि ।’

काठमाडौं महानगरपालिकाले आइतबार विहान गौशाला चोकमा सडक मापदण्डभित्र परेका ६ वटा पक्की घरसहित केही टहरामा डोजर चलाएको हो । त्यहाँका संरचनामा डोजर चल्दा मिठाइ पसल, टिकट काउन्टर, किराना पसल र केही रेस्टुरेन्ट व्यवसायी प्रभावित भएका छन् ।

आइतबार दिउँसो गौशाला पुग्दा केही व्यवसायीहरु अस्तव्यस्त बनेका आफ्ना सरसामान ठेगान लगाउनै व्यस्त देखिन्थे । महानगर र घरबेटीले सूचना नदिँदा आफूहरु मारमा परेको र सरसामानमा क्षति पुगेको उनीहरुको गुनासो थियो ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भने मापदण्ड विपरीत बनेका घर, संरचना हटाउन ३५ दिनअघि नै सूचना दिइसकेको बताउँछन् ।

१५ दिनदेखि माइकिङ गरेर पनि घर, संरचना भत्काउन आग्रह गर्दा पनि नसुनेपछि महानगर आफैंले डोजर चलाएको उनले बताए । नगर प्रहरी प्रमुख पाण्डे भन्छन्, ‘अहिले सांकेतिक रुपमा ६ वटा पक्की ठूला घरहरु भत्काएर काम सुरु गरेका छौं । अन्य ३२ वटा अस्थायी टहरा, सटरहरु पनि भत्काउँछौं ।’

 

 

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?