+
+

सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँः प्रमुख सचेतक शाही

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १५:४६

७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भूमिका निर्वाह नगरेको बताएका हुन् ।

उनले भने, ‘ आज हामीले सभामुख देखेनौँ । कुर्सीमा बसेको मान्छे देख्यौँ । तर कुन पार्टीको कार्यकर्ता देख्यौँ ।’

उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुर्सीमा देखेको टिप्पणी गरे । उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्न समेत गरे । ‘एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ । सभामुखज्यूलाई भन्छु तपाई सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो ? यो प्रश्नचिन्ह खडा भएको छ ।’

उनले बैठकमा प्रमुख प्रतिपक्ष दललगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताए ।

‘हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनैपनि मन्त्रीपटी, कुनैपनि मान्छेपटी अगाडि फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ । तर आज प्रधानमन्त्री र मन्त्रीहरुलाई मर्यादापालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो त्यो भएको हुनाले आज हामीले के देख्यौँ भने सभामुख देखेनौँ । जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन । यसरी पनि गर्न मिल्छ ? यो कहाँको न्याय हो ? ‘

प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भूमिका सभाभुखको जस्तो नभएको रहेको बताए ।

उनले भने, ‘ विश्वासको मत भोलि, पर्सि लिएको भएपनि हुन्छ । सभामुखले निष्पक्षताको भुमिका खेल्नु भएन । अहिले हाम्रो प्रतिपक्ष दलहरुको बैठक पनि भर्खरै सकिएको छ । हामी सबैको निर्णय के छ भने, सभामुख सभामुख जस्तो रहनु भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?