+
+

जहिल्यै काकाकुल कोइलाबास

रासस रासस
२०८१ जेठ ८ गते ८:००
फाइल फोटो ।

८ जेठ, दाङ । गढवा गाउँपालिका-८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम सुरु भएपछि हरेक वर्ष पिउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउँछ । गर्मी मौसम लाग्नै हुन्न कोइलाबासमा पानीको समस्या सुरु भइहाल्ने उनी बताउँछन् ।

तर यो समस्या आजको समस्या होइन,  कोइलाबासमै जन्मिएका ५७ वर्षीय तुलाधरले थाहा पाएदेखि नै हरेक वर्ष पानीको समस्या झेल्दै आएको अनुभव सुनाए ।

गर्मी सुरु भएपछि कुवा, इनार तथा खोलामा पानी सुक्ने तुलाधरको भनाइ छ । उनीजस्तै कोइलाबासका १ सय २० घरधुरीले पानीको समस्या भोग्दै आएका छन् । गाउँमा भरपर्दो पानीको स्रोत नहुँदा स्थानीयबासी भारतबाट आउने जारको पानी किनेर पिउन बाध्य छन् ।

भारतबाट पानी ल्याउने व्यापारीको समेत बिक्रीका लागि पानी ल्याउने कुनै निश्चित समय हुँदैन । यदि आफैं पानी लिन जानुपरे भारतको बलरामपुर पुग्नुपर्ने स्थानीयबासीको गुनासो छ । बलरामपुर कोइलाबासबाट ८ किलोमिटर टाढा छ । त्यसमाथि नाकामा आवतजावत गर्न सहज छैन ।

स्थानीय नरेश अधिकारीले यहाँको पानीको समस्या समाधानका लागि हालसम्म कुनै निकायले पहल नगरेको आरोप लगाउँछन् । ‘मानिसले कपडा धुने, नुहाउने, गाईवस्तुलाई खुवाउने र चराचुरुङ्गीले खाने पानी पाउन समस्या छ’, अधिकारीले भने । उनका अनुसार खोलामा खाडल बनाएर त्यसैबाट आएको पानी ट्याङ्कीमा जम्मा गरेर ३/४ दिनमा वितरण गर्ने गरिएको छ ।

पानीको समस्या विगत लामो समयदेखि भए पनि समाधानका लागि ठोस पहल नभएको उनको भनाइ छ । वडाको बजेट पर्याप्त नहुने र पालिका तथा सङ्घ, प्रदेशबाट सहयोग नहुँदा समस्या समाधान हुन नसकेको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?